महाधिवेशन नजिकिदै गर्दा काङ्ग्रेसमा चुलिँदै विवाद




काठमाडौं, फागुन २०
कांग्रेसमा १४औँ महाधिवेशनको कार्यतालिका आए पनि आन्तरिक विवाद थप चुलिँदै गएको छ । पुस अन्तिम साता केन्द्रीय समितिको बैठकबाट सुरु भएको महाधिवेशनकेन्द्रित विवाद विभाग गठन र केन्द्रीय सदस्य मनोनयनसँगै झन् चुलिएको छ । 

संस्थापनइतर पक्षले महाधिवेशनको एजेन्डा नआएपछि केन्द्रीय समितिको बैठक नै बहिष्कार गरेको थियो । तैपनि, संस्थापनले अरूको सहमतिविना नै महाधिवेशनको कार्यतालिका बहुमतबाट ल्यायो ।

त्यसपछि त कांग्रेस विवाद झन् लम्बियो । एक महिनापछि निर्णय फिर्ता लिएसँगै महाधिवेशनको कार्यतालिका पुनः संशोधन गरियो । 

१३ माघमा केन्द्रीय समिति बैठकबाट निर्णय सच्याउन सभापति देउवा तयार भए । तर, त्यसपछि पनि आन्तरिक समायोजन समयमै सकाएर कांग्रेस १४औँ महाधिवेशनको कार्यतालिकामा प्रवेश गरेन ।

२९ माघमा २५ जिल्लाको आन्तरिक संरचनाको समायोजन नसकिएपछि १५ फागुनसम्म म्याद थपियो । तर, ७७ मध्ये आधा जिल्लाको समायोजन अझै पूरा हुन बाँकी नै छ । 

समयमा समायोजन नसक्दा महाधिवेशनको कार्यतालिकाअन्तर्गत क्रियाशील सदस्यताको वितरण र नवीकरण समयमा सुरु हुन सकेको छैन । १३औँ महाधिवेशनको सदस्यताको रेकर्ड नै प्रभावकारी रूपमा नराखिएको भन्दै विवाद भएको छ । 

विवाद बल्झाउँदै विभाग

केन्द्रीय समितिको बैठकदेखि देखिएको विवाद साम्य भए पनि विभाग गठनपछि पुनः उत्कर्षमा पुगेको छ । शनिबार सभापति देउवाले १३ विभागीय संयोजक तोक्दै पाँच नेतालाई आमन्त्रित केन्द्रीय सदस्यमा मनोनीत गरेपछि पुनः विवाद सुरु भएको छ ।

विभागीय संयोजकका लागि नाम मागे पनि संस्थापनइतर पक्षले नाम दिएको छैन । त्यसपछि सभापति देउवाले आफ्नो पक्षका नेतालाई समेट्दै विभाग गठन गरे । यसबाट पौडेल पक्ष असन्तुष्ट बनेको छ । 

यसैबीच सोमबार देउवाले पुनः आफूनिकटका सात विभागीय संयोजक थपेका छन् । जसमा शुभेच्छुक संस्था समन्वयमा एनपी साउद, वन, वातावरण तथा विपत व्यवस्थापनमा अम्बिका बस्नेत, महिलामा ईश्वरी न्यौपाने, राज्य प्रशासनमा केशवकुमार बुढाथोकी, खेलकुदमा मोहनबहादुर बस्नेत, निर्माण व्यवसायी समन्वयमा वीरबहादुर बलायर र शिक्षा विभागमा हरिप्रसाद नेपाललाई जिम्मेवारी दिइएको छ । नयाँ पत्रिका

प्रकाशित मिति: २० फाल्गुन २०७६, मंगलबार