अंक बढाउन विद्यार्थीमाथि अत्याचार


 


काठमाडौं, फगुन २६
जुनसुकै मूल्यमा पनि राम्रो अंक ल्याउने र विद्यालयको प्रतिष्ठा बढाउने होडबाजीमा शिक्षकले आफ्नै विद्यार्थीलाई प्रताडित बनाइरहेका छन् ।

कम नम्बर ल्याउने विद्यार्थीलाई दुव्र्यवहार गर्ने मात्र होइन, शारीरिक रूपमा कुटपिट गरेर हात भाँचिदिनेसम्मका घटना भएका छन् । यातनाकै कारण विद्यार्थीले आत्महत्यासमेत रोजेका छन् ।

कानुनले विद्यार्थीमाथि कुटपिट र यातनालाई फौजदारी अपराध मानेको छ । तर, यातनामा संलग्न शिक्षकलाई सामान्य दण्डसम्म दिइए पनि विद्यालयलाई उन्मुक्ति दिने गरिएको छ । त्यसैले विद्यालयभित्रै विद्यार्थीमाथि वर्षमा यातनाका दर्जनौँ घटना बढेका छन् ।

पछिल्लोपटक शनिबार जडीबुटीस्थित जागृति विद्यालयकी शिक्षिका सीतालक्ष्मी कर्माचार्य पक्राउ परेकी छिन् । उनले परीक्षामा थोरै अंक ल्याएको भन्दै ३४ विद्यार्थीलाई हात चिर्न लगाएकी थिइन् । कर्माचार्यलाई महानगरीय प्रहरी वृत्त बानेश्वरले थुनामा राखेर मुद्दा चलाउने तयारी गरिरहेको छ ।

दुई महिनाअघि मात्र रुपन्देहीको सम्मरीमाई गाउँपालिका–६ मर्चवारस्थित ज्ञानदीप बोर्डिङ स्कुलका विद्यार्थी मोहम्मद देवानले पनि गम्भीर चोट लाग्ने गरी शिक्षकको कुटाई खाए । १७ पुसमा शिक्षक शैलेन्द्र बराईले लट्ठीले हान्दा देवानको आँखामुनि गम्भीर चोट लागेको थियो ।

२१ पुसमा शिक्षक बराईलाई मर्चवा इलाका प्रहरी कार्यालयले पक्राउ गरी मुद्दा चलायो । तर, उनी अदालतबाट ७५ हजार रुपैयाँ धरौटीमा छुटे भने स्कुललाई कुनै कारबाही भएन । बराई अहिले पनि सोही स्कुलमा पढाइरहेका छन् ।

यसअघि १२ माघ ०७५ मा सिराहामा गृहकार्य नगरेको भन्दै शिक्षकले कुट्दा विद्यार्थीको हात भाँचिएको थियो । यो पनि निजी विद्यालयमै भएको घटना हो । मिर्चैयास्थित स्वस्तिक पाठशालाकी शिक्षक तारा कार्कीले कक्षा ६ मा अध्ययनरत ऋतिक यादवको हात भाँचिदिएका थिए ।

पीडित परिवारको उजुरीपछि प्रहरीले शिक्षकलाई पक्राउ गरी मुद्दा चलाएको थियो । तर, अदालतमा पुगेपछि लडेर हाँत भाँचिएको बयान दिइएको थियो । सो घटनामा बालबालिकासम्बन्धी ऐनका साथै अंगभंग मुद्दा चलाइएकोमा शिक्षक २५ हजार धरौटीमा छुटेको र मुद्दा फैसलाको क्रममा रहेको सिराहाका न्यायाधिवक्ता एकराज अधिकारीले बताए ।

गत वर्षदेखि लागू भएको बालबालिकासम्बन्धी ऐन, २०७५ मा बालबालिकामाथि हुने कुनै पनि यातनालाई अपराध मानिएको छ । ऐनको परिच्छेद ८ मा बालबालिकाविरुद्धका कसुरहरू उल्लेख छ । जसमा मानसिक यातना तथा अमार्यादित व्यवहारलाई समेत अपराध भनेको छ ।

कसुर हेरेर एक वर्षदेखि १० वर्षसम्म कैद सजाय हुने ऐनमा उल्लेख छ । सोही ऐनअनुसार केहीलाई कारबाहीसमेत भएको छ । तर, यातना रोकिएका छैनन् ।

गत साउनमा पोखरा–२५ स्थित हेम्जा आवासीय विद्यालयमा बिरामी विद्यार्थीलाई शिक्षकले कुटेको घटना सार्वजनिक भयो । कक्षा ८ मा पढ्ने १४ वर्षीय अंकित तिमिल्सिना बिरामी भएकाले गृहकार्य नगरी विद्यालय गएका थिए । त्यही निहुँमा शिक्षक श्रीराम त्रिपाठीले झापड हानेका थिए ।

अभिभावकको जाहेरीपछि प्रहरीले शिक्षकलाई पक्राउ गरेको थियो । तर, १० दिन हिरासतको बसाइपछि त्रिपाठी छुटेका थिए । दुई पक्षबीच मिलापत्र भएपछि उनी छुटेका थिए । पीडित विद्यार्थीलाई भने अर्को स्कुलमा सारिएको छ । आजको नयाँ पत्रिकाबाट

प्रकाशित मिति: २६ फाल्गुन २०७६, सोमबार

प्रतिक्रिया दिनुहोस्