४ नेपालीमा कोरोना संक्रमण!


 


काठमाडौं, फागुन २७
हालसम्म चार जना नेपालीलाई कोरोना भाइरस (कोभिड–१९) संक्रमणको पुष्टि भएको छ । विदेशमा रहेका तीन र विदेशबाट नेपाल भित्रिएका एक नेपालीमा कोरोना संक्रमणको पुष्टि भएको हो ।

यूएईमा रहेका दुई, अस्ट्रेलियामा रहेका एक र चीनबाट फर्किएका एक नेपालीलाई कोरोना संक्रमण भएको सम्बद्ध अधिकारीहरू बताउँछन् । यूएईमा रहेको स्वास्थ्य मन्त्रालयले हिजो सोमबार सार्वजनिक गरेको प्रतिवेदनअनुसार दुई नेपालीसहित नयाँ थप १४ जनामा कोरोना संक्रमण भेटिएको हो ।

नयाँ संक्रमितमध्ये दुई नेपाली, ४ यूएईका, दुई बंगाली, एक रसियन, एक भारतीय र एक सिरियाली रहेको गल्फ टुडेले जनाएको छ । यूएईमा कोरोना संक्रमित संख्या ५९ पुगेको गल्फ टुडेमा उल्लेख छ ।

यस्तै, नेपालबाट सिंगापुर ट्रान्जिट भएर १४ फागुनमा अस्ट्रेलिया पुगेका एक नेपालीमा कोरोना पोजेटिभ देखिएको थियो ।
यस्तै, आइसोलेसन वार्ड तयारी अवस्थामा राखिएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ । अहिले पनि सहज तरिकाले कोरोना फैलिएका देशबाट आवतजावत भइरहेको छ ।

विदेशबाट भित्रिने मुख्य नाकामा हेल्प डेस्क स्थापना गरिएको छ । स्वास्थ्य मन्त्रालयका अनुसार स्वास्थ्यकर्मी तयारी अवस्थामा छन् । विदेशबाट आउनेलाई उच्च ज्वरो आए सिधैं अस्पताल लैजाने व्यवस्था मिलाइएको छ । विश्व स्वास्थ्य संगठनले नेपाललाई कोरोना संक्रमणको अति उच्च जोखिम सूचिमा राखेको छ ।

स्वास्थ्य मन्त्रालयका प्रवक्ता डा. विकास देवकोटाले कोरोना संक्रमणको उच्च जोखिममा नेपाल पनि रहेको भन्दै बजारमा स्वास्थ्यजन्य सामग्रीहरू (सर्जिकल मास्क, सेनिटाइजर) को कृत्रिम अभाव सिर्जना नगर्न आग्रह गरे । चिकित्सकले सरसफाइमा विशेष ध्यान दिनुपर्ने बताउँदै आएका छन् । सरुवा रोग विशेषज्ञ डा. अनुप बास्तोलाले भने, ‘जतिसक्दो सरसफाइमा ध्यान दिनुपर्छ । सरसफाई नै पूर्वसावधानीको उपाय हो ।’ राजधानी दैनिकमा खबर छ ।

प्रकाशित मिति: २७ फाल्गुन २०७६, मंगलबार

प्रतिक्रिया दिनुहोस्