एक वर्षमा कतिले छाडे चन्द समूह ?


 


काठमाडौं, फागुन २८
सरकारले नेत्रविक्रम चन्द नेतृत्वको नेकपालाई प्रतिबन्ध लगाएको एक वर्षमा ९ सय ७३ नेता तथा कार्यकर्ताले पार्टी परित्याग गरेका छन् । बम विस्फोट, आगजनी, जबर्जस्ती असुली, जग्गा कब्जाजस्ता आपराधिक गतिविधि गरेको भन्दै सरकारले २०७५ फागुन २८ मा चन्द समूहको गतिविधिमा प्रतिबन्ध लगाएको थियो ।

प्रतिबन्धपछि महासचिव नेत्रविक्रम चन्दसहित केन्द्रीयदेखि स्थानीय तहसम्मका नेता–कार्यकर्ता भूमिगत भएका थिए । कतिपय नेता–कार्यकर्ता पक्राउ परेपछि चन्दले स्थायी समिति र पोलिटब्युरो भंग गरी ५ सदस्यीय सचिवालय र ३० सदस्यीय केन्द्रीय समिति बनाएका छन् । प्रहरी प्रधान कार्यालयका अनुसार प्रतिबन्धपछि ३ हजार २ सय ९८ जना पक्राउ परेका छन् । त्यसमध्ये २ हजार ९ सय ४२ जनालाई सम्बन्धित अदालत र जिल्ला प्रशासन कार्यालयमा मुद्दा दायर गरिएकोमा २ हजार ७ सय १६ धरौटी र तारेखमा छुटेका छन् । रिहा भएका र प्रशासनमार्फत आत्मसमर्पण गरेका थुप्रैले पार्टी छाडेका छन् । पार्टी परित्याग गर्नेमा सुदूरपश्चिम प्रदेशबाट १ सय ७८, कर्णालीबाट ६८, प्रदेश ५ बाट १ सय ३१, गण्डकीबाट ७६, वाग्मतीबाट ३ सय ५७, प्रदेश २ बाट २४ तथा प्रदेश १ बाट १ सय ३९ जना छन् ।

३ सय २५ जना सोधपुछपछि रिहा भएका छन् । तीन जनामाथि मुद्दा दर्ता गर्न बाँकी र ८४ जना प्रहरी हिरासतमा अनुसन्धानकै क्रममा छन् । अदालतको आदेशमा १ सय ४१ जनालाई पुर्पक्षका लागि कारागार चलान गरिएको छ । सचिवालय सदस्य हेमन्तप्रकाश ओली सहितका केन्द्रीय तहका दुई दर्जन नेताहरू पुर्पक्षमा कारागारमा छन् । प्रभावशाली नेता मानिएका मोहन कार्की र पदम राई सत्तारूढ नेकपामा प्रवेश गरे । प्रहरी प्रवक्ता डीआईजी शैलेश थापा क्षत्रीका अनुसार चन्द समूहबाट ५१ थान हतियार बरामद भएको छ । बरामद हतियारमा एम–१६, एसएमजी, एलएमजीलगायत पनि छन् । कान्तिपुर दैनिकबाट

प्रकाशित मिति: २८ फाल्गुन २०७६, बुधबार

प्रतिक्रिया दिनुहोस्