बैंकिङ कसुरदार ज्ञवालीको माग सर्वोच्चद्वारा अस्वीकार


 


काठमाडौं, फागुन २८
मुद्दाको सामना गर्ने क्रममा फरार भई पछि फैसला नै उल्ट्याउनुपर्ने दाबी गरेका विवादास्पद बैंकर कमल ज्ञवालीको मागदाबीलाई सर्वोच्च अदालतले अस्वीकार गरेको छ । तत्कालीन पुनरावेदन अदालतले बैंकिङ कसुरको अभियोगमा दोषी ठहर भएका ज्ञवालीले पक्राउ परेपछि आफूले मुद्दाको प्रतिरक्षाको मौका नपाएको भन्दै सर्वोच्च अदालतमा पाँच वटा मुद्दा दायर गरेका थिए । सर्वोच्च अदालतले सबै मुद्दामा पुनरावेदन अदालतको फैसला सदर गरेको हो ।

न्यायाधीशहरू दीपककुमार कार्की, पुरुषोत्तम भण्डारी र हरिप्रसाद फुयालको इजलासले बैंकिङ कसुरको अभियोगमा कैद भुक्तान गरिरहेका कमल ज्ञवालीले दायर गरेका पाँच मुद्दामै ‘दाबी पुग्न नसक्ने’ फैसला गरेको हो । ज्ञवालीले आफूलाई गैरकानुनी रूपमा थुनामा राखिएको दाबीसहित एउटा बन्दी प्रत्यक्षीकरणको निवेदन दर्ता गरेका थिए । आफूविरुद्ध बैंकिङ कसुरको अभियोग ठहर गर्ने उच्च अदालतका दुई फैसला बदरको माग गरी थप चार मुद्दा दर्ता गरेका थिए । सबै मुद्दामा पुनरावेदन अदालतको फैसला सदर भएको हो । सर्वोच्च अदालतको फैसलासँगै ज्ञवालीले चार वर्ष कैद भुक्तानका साथै करिब १६ करोड रुपैयाँ बिगो र जरिवाना पनि तिर्नुपर्ने भएको छ ।

विभिन्न बैंकका सञ्चालक, कर्मचारी र नातेदार प्रयोग गरी कर्जा दुरुपयोग गरेका कमल ज्ञवालीले मुद्दा फैसला भएपछि आफूले तारेख नपाएको दाबी गरे पनि सर्वोच्चले उनको माग स्विकारेन

जम्को प्रकाशन प्रालिका नाममा कर्जा प्रवाहका क्रममा बैंकिङ कसुर गरेको अभियोगमा उच्च अदालत पाटनले ०७३ असोज ४ मा कमल ज्ञवालीका साथै उनकी श्रीमती गौरी खनाल (ज्ञवाली) र किश्वर ढकाललाई मुख्य कसुरदार ठहर गरी चार वर्ष कैद सजाय सुनाएको थियो । कमल र गौरीलाई ६ करोड २५ लाख रुपैयाँका दरले बिगो र जरिवाना सजायसमेत सुनायो । किश्वर ढकाललाई ५० लाख रुपैयाँ जरिवाना गर्‍यो । कोमलानन्द अधिकारीलाई चार वर्ष कैद र ५ करोड ७३ लाख रुपैयाँ जरिवानाको फैसला गर्‍यो । तर पतिको प्रभाव र पारिवारिक अवस्था विचार गर्नुपर्ने भन्दै कमलकी पत्नी गौरीलाई भने तीन वर्ष मात्रै कैद फैसला गरेको थियो । उक्त बैंकिङ कसुर मुद्दामा जोडिएका थप पाँच जनालाई दुई वर्ष कैद सजाय भएको थियो । जम्को प्रकाशन जोडिएको अर्को बैंकिङ कसुरको मुद्दामा तत्कालीन पुनरावेदन अदालत पाटनले ०७३ साल जेठ १३ मा कमल ज्ञवालीलाई चार वर्ष कैद र ४ करोड २६ लाख रुपैयाँ जरिवाना हुने फैसला गरेको थियो । दुवै मुद्दाको बिगो १० करोड ५१ लाख पुग्छ भने अदालतले त्यति नै जरिवाना तोकेको थियो ।

घटना यस्तो थियो
सिद्धार्थ विकास बैंकले जम्को प्रकाशनलाई १३ करोड रुपैयाँ कर्जा प्रवाह गरेको थियो । किस्ट बैंकका तत्कालीन सीईओ कमल ज्ञवालीकी पत्नी गौरी खनाल ज्ञवालीको काठमाडौं रविभवनको दुई कित्ता जग्गा उक्त कर्जाको धितोका रूपमा राखिएको थियो । बैंकले गरेको मूल्यांकनमा करिब ६ करोड रुपैयाँ मात्रै रहेको जग्गालाई झन्डै दोब्बरभन्दा बढी कर्जा प्रवाह भएको थियो । कर्जा लिन परियोजना देखाउने क्रममा गौरीले उक्त जग्गा जम्को प्रकाशनका नाममा नामसारी गरेकी थिइन् । कर्जा दुरुपयोग भएको उजुरीसँगै छानबिन चलेपछि उक्त रकम आफूले उपयोग नगरेको भनी जम्को सञ्चालक किशोर ढकालले ऋण लिने सिद्धार्थ विकास बैंकमा निवेदन दिएका थिए । छानबिन हुँदा उक्त रकम सिद्धान्त विकास बैंकको नारायणगढ शाखामार्फत ट्रान्सफर भई दुरुपयोग गरेको राष्ट्र बैंकको सुपरिवेक्षण विभागले गरेको अनुसन्धान प्रतिवेदनमा उल्लेख छ । केन्द्रीय कार्यालयको कर्जालाई नारायणगढ शाखामार्फत भुक्तानी गरेर प्राइम बैंकको न्युरोड शाखाबाट रकम ट्रान्सफर भएको थियो । छानबिन हुँदा उक्त कर्जाको साँवा १३ करोडमा ३ करोड ब्याज थपिएर १६ ऋण पुगेको थियो ।

छानबिनबाट अप्ठ्यारो परेपछि सिद्धार्थ डेभलपमेन्ट बैंकका सीईओ दीपेन्द्र कार्कीले राष्ट्र बैंकमा निवेदन दिई जम्को प्रकाशन, मधुसूदन शर्मा र जमुना खनालका कर्जा किस्ट बैंकका तत्कालीन सीईओ कमल ज्ञवालीसँग सम्बन्धित रहेको भनी किटानी दिए । जम्कोका सञ्चालक किशोर ढकाल (अर्को मुद्दामा उनको नाम किश्वर भनी उल्लेख छ) का अनुसार किस्टका कमल ज्ञवालीले झुक्याएर जम्कोका नाममा ऋण लिई रकम आफैंले चलाएका थिए । उनले अदालतमा बयानमा भनेका छन्, ‘कलंकीमा मेरो जग्गा छ । केही समयका लागि तपाईंको फर्ममा नामसारी गरिदिन्छु र सम्पूर्ण ऋण तथा ब्याज तिरिदिन्छु भनी मलाई फकाएर नामसारी गरेको हो ।’

किस्ट बैंकले पनि ०६७ असार ३२ मा १२ करोड रुपैयाँ जम्को प्रकाशनका नाममा कर्जा प्रवाह गरेको थियो । त्यही दिन विभिन्न ३१ जना व्यक्तिको नाममा १२ करोड रुपैयाँको चेक काटेर बाँडेको भेटियो । उक्त कर्जाको धितोका रूपमा ५१ लाख ६५ हजार रुपैयाँ मूल्यांकन भएको १ रोपनी ५ आना जग्गा राखिएको थियो । राष्ट्र बैंकको दाबीअनुसार जम्को प्रकाशन नामको साधारण प्रेसलाई बैंकिङ प्रणालीबाट २५ करोडभन्दा बढी रकम दिएर कर्जा दुरुपयोग भएको थियो ।

धितो राख्ने सम्पत्तिको हक हस्तान्तरणमा पनि अनेक चलखेल भएको थियो । कमल ज्ञवालीकी श्रीमती गौरी खनालको नामको ललितपुरको ठूला दुर्लुङ गाविसको ९ रोपनी ४ आना जग्गा तुलसी खनालको नाममा नामसारी गरियो । त्यसको चार दिनपछि फेरि शोभा गिरीका नाममा सारेर त्यो जग्गा पनि सिद्धार्थ विकास बैंकको कर्जा सुरक्षाका लागि रोक्का राखेको भेटियो । विभिन्न पाँच वटा कर्जा प्रवाहका क्रियाकलापमाथि अनुसन्धान हुँदा त्यसमा किस्टका सञ्चालक कमल ज्ञवाली जोडिएको खुल्यो । उनले सिद्धार्थ विकास बैंकको अवकाश कोषबाट ३ करोड १० लाख कर्जा प्रवाह गराएका थिए । शोभा गिरीका नाममा ३० लाख प्रवाह भएको थियो । गौरी खनालकी दिदी जमुनाका नाममा ३० लाख निकालिएको थियो । कमल ज्ञवालीका अनेक नातेदारका नाममा विभिन्न कर्जा लिएको खुल्यो ।

सिद्धार्थ विकास बैंकका तत्कालीन सीईओ दीपेन्द्र कार्कीले कमल ज्ञवालीको घरमै सल्लाह गरेर मिलेमतोमा कर्जा प्रवाह गरेको बयान दिए । उनका अनुसार सिद्धार्थ र किस्ट बैंकबाट कर्जा लिँदा कमल ज्ञवालीको घरमा बसी कागजात तयार भएको थियो । जम्कोका किशोर ढकालले आफू अनाहकमा फसेको बयानकै क्रममा खोले । उनका अनुसार कमल ज्ञवालीको प्राइम बैंकमा कर्जा रहेछ । त्यो तिर्न नसकेकाले उनलाई साह्रै अप्ठ्यारो परेको रहेछ । उनलाई कर्जा लिन केही वर्ष चलिरहेको कम्पनी पनि चाहिएको रहेछ । जम्कोका सञ्चालक किशोरले बयानमा भनेका छन्, ‘सुरुमा मैले प्रस्ताव नमाने पनि बारम्बार कुरा आएपछि सीईओजस्ता ठूला मानिसले भनेको राम्रै होला भनेर प्रस्ताव स्वीकार गरें ।’ जम्कोका नाममा ऋणस्वरूप भुक्तानी भएको १२ करोड ५० लाख रुपैयाँ कमलकी श्रीमती गौरीको खातामा जम्मा भयो । त्योमध्ये उनीहरूले २ करोड ६० लाख जग्गा खरिदमा खर्च गरे भने ९ करोड ९० लाख प्राइम बैंकको कर्जा तिर्न प्रयोग गरे ।

जम्को प्रकाशनका नाममा अरू गलत क्रियाकलाप पनि भयो । सिद्धार्थ विकास बैंकले ०६६ असोज २५ गते मधुसूदन शर्माका नाममा १० करोड कर्जा प्रवाह गर्‍यो । सीईओ कमलका भान्जा मधुसूदन त्यति बेलाको किस्ट बैंकका कर्मचारीसमेत हुन् । त्यही दिन जमुना खनाल (कमल ज्ञवालीकी श्रीमतीकी दिदी) का नाममा कमल ज्ञवालीको जमानतमा १० करोड कर्जा प्रवाह भयो । ती सबै कर्जा पछि कमल ज्ञवालीले ०६८ पुस २९ मा आफू अध्यक्ष रहेको जीवनधारा पब्लिक लिमिटेडका नाममा सिद्धार्थ डेभलपमेन्ट बैंकबाट लिएको नयाँ कर्जाबाट चुक्ता गरेको खुल्यो ।

ती कर्जामध्ये मधुसूदन शर्मालाई ८ करोड ८७ लाख र जमुना खनाललाई ८ करोड ८७ लाख रुपैयाँ सिद्धार्थ डेभलपमेन्ट बैंकले किस्ट बैंकको खातामा चेकमार्फत भुक्तानी गरेको खुल्यो । दुवै खाताको रकम किस्टमा रहेको तुलसीप्रसाद खनालको खातामा ट्रान्सफर भयो । त्यहीमध्ये ११ करोड ५ लाख रकम तुलसीप्रसाद खनालको खाताबाट जेन्टल हाउजिङ कम्पनीको कर्जाको साँवा र ब्याज भुक्तानीमा प्रयोग भयो । किस्ट बैंकको ऋणी जेन्टल हाउजिङमा मधुसूदन सिलवालको लगानी छ । सिलवाल सिद्धार्थ विकास बैंकका समेत सञ्चालक हुन् । राष्ट्र बैंकको प्रतिवेदनअनुसार दुई फरक बैंकका सञ्चालक र कर्मचारीको मिलेमतोमा यताको ऋण उता र उताको ऋण यता गरी कर्जा दुरुपयोग गरिएको थियो । सिलवाल सञ्चालक रहेको उक्त कम्पनीमा किस्टबाट १७ करोड ४४ रुपैयाँ कुल भुक्तानी भएको प्रतिवेदनबाट खुल्यो ।

यी सबै विवरण र त्यसको प्रमाण मूल्यांकनपछि उच्च अदालतले धितो अधिक मूल्यांकन गराई कर्जा प्रवाह गरेर बैंकिङ कसुर गरेको ठहर गर्‍यो । प्रहरीले अनुसन्धान गरेकै अवस्थामा फरार कमललाई मुद्दा फैसलाको दुई वर्षपछि प्रहरीले ०७५ असोज १९ मा पक्रिएको थियो । कैद भुक्तान गरेको झन्डै एक वर्षपछि मात्रै उनले आफूलाई म्याद नै नदिई मुद्दा फैसला गर्नु गलत भएको भन्दै सर्वोच्चमा पाँच मुद्दा हालेका थिए, जसलाई सर्वोच्चले एकमुष्ट रूपमा गत ८ गते खारेज गरेको हो । कान्तिपुर दैनिकबाट

प्रकाशित मिति: २८ फाल्गुन २०७६, बुधबार

प्रतिक्रिया दिनुहोस्