बैंकिङ सफ्टवेयरमा गैरकानुनी हेरफेर, केन्द्रीय बैंकले अनुसन्धान गर्ने


 


काठमाडौं, फागुन २९
नबिल बैंकले ऋणीबाट रकम असुली गर्दा ‘गैरकानुनी अभ्यास‘ गर्दै आएको तथ्य फेला परेको छ। वाणिज्य बैंकका रुपमा रहेको नबिलले ऋणीबाट ऋण असुल गर्दा अपनाउनुपर्ने नेपाल राष्ट्रबैंकका नियम र मापदण्डसमेत उल्लंघन गर्दै आएको छ। नागरिकसँगको सम्पर्कमा आएका ऋणीका अनुसार राष्ट्रबैंकको निर्देशिकाविपरीत नबिल बैंकले सम्बन्धित ऋणीको खाताबाट रकम काट्ने गरेको छ।

बैंकले आफूले लिएको ऋण विभिन्न कारणले भाकामा तिर्न नसक्ने ऋणीको कोर बैंकिङ सफ्टवेयर (सिबिएस) बाट बैंक खाता विवरण अफलाइन हासिल गरी रकम घटाउने गरेको हो। अफलाइन खाता विवरण हासिल गरेपछि ऋण असुली गर्ने विद्यमान मापदण्डविपरीत बैंक कर्मचारीहरूले सम्बन्धित व्यक्तिको रकम उसको खाताबाट काट्ने गरेका छन्।

राष्ट्रबैंक नियमावलीले बैंकलाई पहिले ब्याजमा लागेको जरिवाना, ब्याज र त्यसपछि मात्र साँवा घटाउन दिन्छ। तर नबिलले यसविपरीत काम गरिरहेको छ। ऋणीहरूले दाबी गरेअनुसार बैंकले सबैभन्दा पहिले साँवा, त्यसपछि ब्याज र अनि मात्र ब्याजमा लागेको जरिवाना काट्ने गरेको छ।

राष्ट्रबैंक नियमावलीले बैंकलाई पहिले ब्याजमा लागेको जरिवाना, ब्याज र त्यसपछि मात्र साँवा घटाउन दिन्छ। तर नबिलले यसविपरीत काम गरिरहेको छ।
नबिल बैंकले राष्ट्रबैंकको मापदण्डविपरीत आफ्ना कर्मचारी परिचालन गरी लक्षित ऋणीको बैंक खाता विवरण अफलाइनमा लैजाने र त्यसैका आधारमा घटाउने गरेको देखिएको छ। यो अभ्यासको उद्देश्य ऋण जोखिम घटाउने हो। यसले गर्दा सम्भावित क्षति र ननपर्फर्मिङ लोन (एनपिएल) को व्यवस्था गर्नु आवश्यक हुँदैन। यसले बैंकलाई आफ्नो नाफा कायम राख्न र सेयरधनीलाई लाभांश नघटोस् भन्ने सुनिश्चित गर्छ।

बैंकका कार्यकारी अधिकृत अनिलकेशरी शाहले भने ऋण असुलीका निम्ति अवाञ्छित अभ्यास नगरेको दाबी गरे। ‘हाम्रो अभ्यासअनुसार ऋणको भुक्तानीका लागि ऋणीले आवश्यक रकम आफ्नो खातामा जम्मा गर्छन् जसलाई पुनर्भुक्तानीका निम्ति ऋणसँग लिंक गरिएको हुन्छ। ऋण बुझाउने दिनमा सिस्टमले आफैं पहिले ब्याज र त्यसपछि साँवा घटाउने गर्छ,’ उनले भने।

‘ढिलो भुक्तानी रकमको हकमा सिस्टमले पहिले विलम्ब शुल्क, ब्याज जरिवाना, बाँकी ब्याज र त्यसपछि मूलधन काट्ने गर्छ। यो सबै सिस्टमबाटै हुन्छ, यसमा कुनै म्यानुअल हस्तक्षेप हुँदैन,’ उनले थपे।

राष्ट्रबैंका अधिकारीहरूले भने नबिल बैंकको यो अभ्यासबारे अनुसन्धान गर्ने बताए। ‘औपचारिक रुपमा हामीलाई कसैले उजुरी गर्छ भने हामी अनुसन्धान गर्छौं, बैंकले कुनै नियम उल्लंघन गरेको रहेछ भने कारबाही हुन्छ,’ राष्ट्रबैंकका बैंक तथा वित्तीय संस्थान अनुगमन विभाग निर्देशक देवकुमार ढकालले भने।

प्रकाशित मिति: २९ फाल्गुन २०७६, बिहिबार

प्रतिक्रिया दिनुहोस्