प्रहरी प्रधान कार्यालयमा कमिशनको लागि यसरी मिलाइन्छ सेटिङ!


 


काठमाडौं, फागुन ३०
नेपाल प्रहरीमा मौलाएको कमिसनको खेलले गर्दा गुणस्तरहीन लत्ताकपडा खरिद हुँदै आएको छ। ठेकेदार र केही प्रहरी अधिकारीबीच हुने कमिसनको खेलको असर सामानको गुणस्तरमा पर्न गएको हो। यस वर्ष मात्र होइन विगतदेखि नै प्रहरी प्रधान कार्यालयले खरिद गर्ने लत्ताकपडामा ठूलै परिमाणको कमिसनको खेल हुँदै आएको छ।

लत्ताकपडाको खरिदका लागि भदौ २३ गते राती प्रहरी प्रधान कार्यालयको प्रबन्ध शाखामा बसेर सेटिङ गरिएको थियो। स्रोतका अनुसार प्रबन्ध शाखाका तत्कालीन डिएसपी नवराज थापाको कोठामा प्रहरी निरीक्षक केशव गौतम, भण्डारण शाखाका डिएसपी मदन केसी, ठेकेदार ज्ञानेन्द्र बस्नेत, रितेश अग्रवाल, श्रवण अग्रवाल, टोपेन्द्र बिसी, राजमान मिश्र, पिताम्बर मुन्काले नै कुन कुन सामानको टेण्डर कसरी हाल्ने भनेर सेटिङ गरेका थिए।

‘ठेकेदारलाई नै हाम्रा हाकिमले आफ्नै कोठामा राखेर ठेक्का बाँडफाँट गरेका हुन्। उनीहरुले मिलेर ठेक्का हालेपछि अरुको त सम्भावना नै भएन’, शाखा स्रोतले भन्यो। ठेकेदारले प्रबन्ध शाखामा बुझाउने सामान नमुना र गुणस्तर परीक्षण गर्न भारत पठाउने विषयमा पनि त्यही बैठकमा छलफल भएको स्रोतले बतायो। ‘संकलन भएको सामानको नमुना पनि प्रबन्ध शाखाका हाकिमको कोठामा लगेर परिवर्तन गरिन्छ’, स्रोतले भन्यो। प्रबन्ध शाखामै रहेका बेला डिएसपी थापालाई ट्राफिक कार्यालयमा बस्दा घुस लिएको अभियोगमा अख्तियारले पक्राउ गरी अनुसन्धान गरेको थियो।

सामानको भुक्तानी लिन पनि ठेकेदारले प्रहरीको लेखा शाखालाई निश्चित रकम बुझाउनुपर्छ। यसले गर्दा पनि सामानको गुणस्तरमा सम्झौता हुन्छ। ठेकेदारले सामान बुझाएपछि प्रहरीले बाँकी ८० प्रतिशत रकम भुक्तानी गर्नुपर्ने हुन्छ। यस वर्ष टप बुटको भुक्तानी भइसकेको छ। स्रोतका अनुसार कमिसनको रकम प्रहरीका उच्च अधिकृतलाई मात्रै नभई लेखा परीक्षण गर्ने महालेखा परीक्षकका कर्मचारीलाई समेत बुझाउनुपर्ने हुन्छ।

‘नेपाल प्रहरीको लेखा परीक्षणमा खटिने महालेखाका अधिकृतलाई ज्वाइँ पालेभन्दा बढी सम्मान गर्नुपर्ने र ठेक्काको निश्चित रकम बुझाउनुपर्ने हुन्छ’, प्रबन्ध शाखा स्रोतले भन्यो। आगामी वर्षका लागि खरिद गरिएका लत्ताकपडा ठेकेदारले यही चैत १५ गतेभित्र बुझाइसक्नुपर्नेछ। सामान आउने क्रम जारी छ। यस वर्ष किनिएका यी सामान आगामी वर्ष प्रयोग गरिनेछ। नागरिक दैनिकबाट

प्रकाशित मिति: ३० फाल्गुन २०७६, शुक्रबार

प्रतिक्रिया दिनुहोस्