मदिराले १५ दिनमा एकै गाउँका ११ को मृत्यु, फेरि देवी रिसाएको अन्धविश्वास


 



जनकपुरधाम, चैत १
धनुषाको क्षीरेश्वरनाथ नगरपालिका–२ रमदैयामा घरेलु रक्सी पिउँदा दुई सातामा ११ जनाको ज्यान गएको छ । तीमध्ये आठको बिहीबार र शुक्रबार मृत्यु भएको हो । मृत्यु हुनेमा रामविलास मण्डल, शत्रुधन मण्डल, इन्द्रजित महरा, ब्रह्मदेव यादव, गुदर महरा, रामनारायण महरा र नीरश यादव छन् ।

धनुषाकै रूपैठ घर भई रमदैयास्थित ससुरालीमा बस्दै आएका राजु महराको पनि मृत्यु भएको छ । शत्रुधन मण्डलको शुक्रबार साँझ जनकपुरको सिटी अस्पतालमा उपचारका क्रममा ज्यान गएको हो ।

दुई साताअघि रमदैयासँगै जोडिएको मुसहर बस्तीमा मदिरा सेवनबाटै भुनटुन सदा, दसै सदा र विजय महराको मृत्यु भएको थियो । सबैको सुरुमा टाउको र पेट दुख्ने, बान्ता आउने, आँखा डम्म हुने र अन्ततः शरीर चिसो भएर ज्यान गएको स्थानीयले बताएका छन् । 

मदिरा सेवनकै कारण भरत मण्डल, ईश्वर महरा, शम्भु महरा, उपेन्द्र महरा र सीताराम यादव सिकिस्त बिरामी छन् । ईश्वरको सिटी अस्पतालमै उपचार भइरहेको छ । अन्यको पनि जिल्लाका स्वास्थ्य संस्थामा उपचार भइरहेको छ । 

गाउँकै पसलमा प्राप्त घरेलु मदिरा सेवन गर्दा उनीहरूको मृत्यु भएको स्थानीयले बताएका छन् । इलाका प्रहरी कार्यालय महेन्द्रनगरका इन्स्पेक्टर पप्पु नायकले पनि उनीहरूले होलीमा अत्यधिक सेवन गर्दा ज्यान गएको बताए ।

‘उनीहरूले कुन मदिरा खाएको हो पुष्टि गर्न अनुसन्धान थालेका छौँ, स्थानीय केही पसलबाट मदिरा बरामद पनि गरेका छौँ,’ इन्स्पेक्टर नायकले भने, ‘बरामद मदिरा विषालु हो–होइन जाँच गर्न पठाएका छौँ ।’

प्रहरीले अवैध घरेलु मदिरा बेचेको आरोपमा स्थानीय रामनन्द साह र तारापट्टी भनिने छठियादेवी चौधरीलाई पक्राउसमेत गरेको छ । धनुषाका प्रहरी प्रवक्ता रामेश्वर कार्की उनीहरूको मृत्युको कारणबारे अनुसन्धान सुरु भएको बताउँछन् । 

गाउँनै बिक्षिप्त

मदिराले निम्त्याएको क्षतिले रमदैया गाउँ विक्षिप्त छ । ७० वर्षीया सिलोचनादेवी मण्डलले दुई छोरा गुमाएकी छिन् । मृतक शत्रुधन र रामविलास उनका छोरा हुन् । अर्का छोरा भरत अस्पतालको आइसियूमा छन् । 

‘म बुढी बरु जिउँदै छु, तर छोराहरू मलाई छाडेर गए,’ सम्हालिन नसकेकी सिलोचनाले भनिन् । तीन भाइले छिमेकी शम्भु चौधरीको पसलबाट घरेलु मदिरा ल्याएर खाएका थिए । घटनालगत्तै शम्भु फरार छन् । 

रामविलास १० दिनअघि मात्रै मलेसियाबाट घर फर्केका थिए । तीन छोरी र एक छोरा रहेका रामविलासको घरको आर्थिक अवस्था दयनीय छ । ‘कमाउने उहाँ मात्रै हुनुहुन्थ्यो, उहाँले छाडेर गएपछि दुनियाँ नै अन्धकार भयो,’ श्रीमती फुलोदेवीले भनिन्, ‘२० लाखभन्दा बढी ऋण छ । अब कसरी तिर्ने रु छोरीहरूको विवाह कसरी गर्नेरु’ 

घरेलु मदिराले ज्यान जाने ४५ वर्षीय ब्रह्मदेव यादव गत शुक्रबार मात्रै दिल्लीबाट फर्किएका थिए । दिल्लीमा उनी एक चाइनिज कम्पनीमा काम गर्थे । कोरोना त्रासका कारण कम्पनी तत्कालका लागि बन्द भएपछि उनी घर फर्केका थिए । भाइसँग बसेर बुधबार मदिरा पिएका उनको बिहीबार दिउँसो मृत्यु भएको हो । 

‘सुरुमा टाउको र पेट दुख्यो भन्नुभयो, गाउँकै पसलबाट पेनकिलर ट्याब्लेट ल्याएर दिएँ, त्यो खाएपछि केही आराम भयो भन्नुभयो,’ श्रीमती धनलुटनले भनिन्, ‘केही समयपछि त आँखा देख्नै छाडेको, पेट डम्म फुलेको भन्नुभयो । अस्पताल जाँदै गर्दा बाटैमै ज्यान गयो ।’ 

मृतकका एक छोरा र चार छोरी छन् । ६ वर्षीय छोरा अमृतले अहिले बाबुको किरिया गरिरहेका छन् । आँसु झार्दै धनलुटनले भनिन्, ‘एउटी छोरीको त विवाह भइसकेको छ, अरू सबै सानै छन्, बस्ने घर र एक कट्ठा खेत पनि महाजनको नाउँमा छ ।’ 

शुक्रबार ज्यान गुमाएका २५ वर्षीय इन्द्रजित महराले घरमै सानो किराना पसल चलाएर घरपरिवार पाल्दै आएका थिए । अन्य मृतक रामविलास महरा र राजु महरासँगै बसेर उनले घरेलु मदिरा पिएका थिए । उपचारका लागि धरान लैजाँदै गर्दा उनको बाटैमा ज्यान गएको हो । 

डेढ वर्षअघि अञ्जु महरासँग विवाह गरेका इन्द्रजितको ६ महिनाकी छोरी छिन् । घरमा कमाउने इन्द्रजित मात्रै थिए । श्रीमान्को मृत्युमा अञ्जु पटक–पटक मुर्छित हुन्छिन् । सान्त्वना दिन पुग्ने सबैलाई उनको प्रश्न हुन्छ, ‘म अब कसको सहारामा बाँच्ने रु मेरो दुनियाँ कसरी चल्छ रु’ सान्त्वना दिनेहरू जवाफविहीन मुन्टो निहुर्याउँछन् ।

इन्द्रजितकै घरको अवस्था रामविलास, राजु र गदरी महराको घरमा छ । उनीहरू सबै छिमेकी हुन् । अधिकांश मृतक मजदुरी गरेर गुजारा चलाउने गरिब परिवारका सदस्य छन् । 

देवी रिसाएर घटना भएको अन्धविश्वास 

रक्सीले गाउँमा भटाभट ज्यान लियो । मृतक र घाइतेका परिवार शोकमा छन् । अन्य गाउँले त्रासमा । उनीहरूलाई लागिरहेको छ, यो सब दैवी शक्तिले भयो । यही अन्धविश्वासका कारण उनीहरू घरमा ताल्चा मारेर भाग्न थालेका छन् । 

समाजवादी पार्टीकी स्थानीय नेतृ एवं पूर्वसांसद उर्मिला यादवले भनिन्, ‘यहाँ आउँदा मलाई पनि गाउँका केही मान्छेले रोके । महारानी ९देवी० रिसाएर घटना भएको हो, नजानुस् भने । गाउँमा बसे आफ्नो परिवारका सदस्यसमेत मर्ने भन्दै घर छाडेर भागेका छन् ।’ 

एक महिलाले आफूमाथि महारानी सवार भएको भन्दै काम्न थालेपछि स्थानीय झन् त्रसित भएका छन् । स्थानीयले शुक्रबार गाउँको डिहबार थानमा सलामीसमेत दिएका छन् । सबै घरबाट कम्तीमा एक–एकजना भेला भएर देवीको सामूहिक पूजा गरेका छन् ।

दुई महिनाअघि क्षीरेश्वरनाथ नगरपालिका–१० चोरवा गाउँमा महारानी ९देवी० आएकोमा स्थानीय महरा समुदायले अपमान गर्दा रिसाएर अहिलेको घटना भएको कतिपय स्थानीयको भ्रम छ । 

होलीअघि क्षीरेश्वरनाथ नगरपालिका–१ को मुसहर बस्तीमा मदिरा सेवनबाटै भुनटुन सदा र विजय सदाको मृत्यु भएको थियो । तर, अधिकांश स्थानीय मुसहर समुदायले घरेलु मदिरा सेवन गर्ने भएकाले घटना बाहिर ल्याउन चाहेनन् । उनीहरूले पनि देवी र डिहबार थान रिसाएर घटना भएको निष्कर्ष निकाले ।

स्थानीयको अन्धविश्वासलाई महोत्तरी जगरियाका एक धामीले थप मलजल गरेका छन् । आफूलाई ५० हजार दिए मुसहर बस्तीलाई तन्त्रमन्त्रले बाँध्ने र आइन्दा यस्तो मानवीय क्षति नहुने बताइरहेका छन् । एउटा बोका, आठ परेवा, सवा पसेरी लड्डु र फूल–अक्षता पनि माग गरेका छन् । नयाँ पत्रिका

प्रकाशित मिति: १ चैत्र २०७६, शनिबार

प्रतिक्रिया दिनुहोस्