करोडौं लिएर सुनचाँदी व्यवसायी बेपत्ता!


 


सुनसरी, चैत्र १
सर्वसाधारणको १२ करोडभन्दा बढी रकमसहित धरान–३, कैलाशपथस्थित न्यू जयन्ती सुनचाँदी स्टोरका सञ्चालक बेपत्ता भएका छन् । सञ्चालक यौवन खड्गी र उनकी छोरी योजना एक महिनादेखि सम्पर्कबिहीन भएपछि स्थानीय चिन्तित बनेका छन् । १८ प्रतिशतसम्म ब्याज दिने लोभ देखाएपछि सर्वसाधारणले खड्गीको सुनचाँदी पसलमा पैसा जम्मा गरेका थिए । पसल बन्द गरेर बाबुछोरी बेपत्ता भएपछि राखेको रकम डुब्ने डरले दुई दिनदेखि सर्वसाधारणले उनको घर घेराउ गरेका छन् ।

वडा–३ का सदस्य विकास वनेपालीले वडा कार्यालयमा पीडितहरूले उक्त सुनचाँदी पसलमा राखेको रकम फिर्ताको माग गर्दै निवेदन दिएको बताए । उनले भने, ‘१८ प्रतिशत ब्याज पाउने भएपछि एउटै व्यक्तिले ६० लाख रुपैयाँसम्म राखेको देखिएको छ । आठ/दश लाख रुपैयाँ राख्ने त कति छन् कति ।’ धरौटीमा राखिएको सुनचाँदी गहनाको हिसाब अझै निकाल्न सकिएको छैन ।खड्गीले आफ्नै घरमा सुनचाँदी पसल सञ्चालन गर्दै आएका थिए । अहिले दैनिक करिब एक सय जना भेला भएर खड्कीको घर घेराउ गरिरहेका छन् ।

स्थानीयले १२ करोडभन्दा बढी जम्मा गरेको दाबी गरे पनि खड्गीको सुनचाँदी पसलमा राख्न दिएको भनेर आउनेहरूको रकमको हिसाब गर्दा बिहीबार दिउँसोसम्म सात करोड रुपैयाँ बचत गरेको देखिएको छ । स्थानीय हरीप्रसाद साहीले आफैंले नौ लाख रुपैयाँ जम्मा गरेर राखेको बताए । उनले भने, ‘अहिले खड्गी बेपत्ता छन् । उनको फोन पनि स्वीच अफ छ । पहिले–पहिले लामो समय पसल बन्द गर्दा सूचना टाँसेर जाने गरेका थिए । अहिले उनको नियत राम्रो देखिन्न ।’ खड्गीकोमा काठमाडौं, विराटनगर, इटहरीसम्मका सर्वसाधारणले पैसा राखेका छन् ।

वडा–३ का अध्यक्ष आशबहादुर श्रेष्ठले पीडित सर्वसाधारले बेपत्ता खड्गीकी श्रीमतीसँग कागज गराउन पनि माग गरेको बताए । उनले भने, ‘यतिका दिनसम्म श्रीमती गीता खड्गीले श्रीमान् हराएको भनेर उजुरी नदिएपछि हामीले दबाब दिएर प्रहरीमा उजुरी दिन लगाएका छौं ।’ उनले श्रीमान् बेपत्ता भएको उजुरी दिन नमान्नुको पछाडि उनी सम्पर्कमै रहेको हुन सक्ने देखिएको उनले आशंका गरे । गीताले छोरी योजनालाई अष्ट्रेलिया पढ्न पठाउनका लागि बाबुछोरी नै काठमाडौं गएको तर कोरोना भाइरसका कारण जान नपाएको बताइन् । उनले यौवन (जेठाजु) को दाई पनि बिरामी भएकाले अस्पतालमा बस्दा आउन ढिलाइ भएको बताइन् ।

धरानमा पैसा राख्ने सर्वसधारणले सोधीखोजी गर्न थालेपछि १२ दिनअघिदेखि अचानक मोबाइल स्वीच अफ भएपछि सम्पर्क हुन नसकेको गीताले बताउँदै आएकी छन् । उनले भनिन्, ‘पसलमा राखेको पैसा कहाँ के गर्नु भयो त्यो मलाई केही पनि थाहा छैन ।’ कान्तिपुर दैनिकबाट

प्रकाशित मिति: १ चैत्र २०७६, शनिबार

प्रतिक्रिया दिनुहोस्