सेनाले बनायो ५२ बेडको आइसोलेसन वार्ड




काठमाडौं, चैत ६
कोरोना भाइरस (कोभिड–१९)को जोखिमलाई मध्यनजर गर्दै सेनाले ५२ बेडकोे आइसोलेसन वार्ड तयार गरेको छ । त्यसमा सैनिक र गैरसैनिकको उपचार गरिने छ ।

पूर्वतयारीअन्तर्गत सेनाले मंगलबार र बुधबार जंगी अड्डा परिसरमा विभिन्न युनिटमा कार्यरत सकल दर्जालाई तालिम गराएको छ । स्वास्थ्य महानिर्देशनालयका ५० सैनिक चिकित्सक तथा विभिन्न युनिटमा कार्यरत एक सय ३१ प्राविधिक सैनिकलाई प्रशिक्षण दिइएको प्रवक्ता सहायकरथी विज्ञानदेव पाण्डेले बताए ।

‘तालिम पाएका एक सय ८१ जनाले अब आठ पृतना र मातहतका बाहिनी र युनिटमा गएर तालिम दिनेछन्, यो प्रशिक्षक प्रशिक्षण तालिमजस्तै हो,’ प्रवक्ता पाण्डेले भने, ‘हाम्रो जनशक्तिलाई लक्षित गरेर सञ्चालन गरिएको यो आन्तरिक तयारीसम्बन्धी तालिम हो ।’ 

सेनामा ९६ हजार पाँच सय जनशक्ति छ । एउटा ब्यारेकमा आठ सयसम्म जनशक्ति छ । उनीहरूलाई लक्षित गरेर दु्रत गतिमा तालिम दिने र सरकारी निर्देशनका आधारमा नागरिकको स्वास्थ्योपचार र सुरक्षामा खटाउने सेनाको तयारी छ । तालिममा सेनाले कोरोना भाइरससम्बन्धी जानकारीमूलक कक्षा सञ्चालन गरेको थियो ।

क्वारेन्टाइन सेटअप र पानीको शुद्धीकरण, फोहोर व्यवस्थापन, बिजुली तथा पानीको धारा व्यवस्थापन, फिल्डका शौचालय व्यवस्थापन, भाइरस रोकथाम र नियन्त्रणका विषयमा सैनिक टोलीलाई सैद्धान्तिक र व्यावहारिक तालिम दिइएको पाण्डेले जानकारी दिए । 

विश्व स्वास्थ्य संगठन (डब्लुएचओ)को मापदण्डअनुसार नौवटा श्रेणीमा विभाजन गरेर हरेक टेन्टमा दुईजना व्यक्ति रहने गरी क्वारेन्टाइन तयार गर्ने तालिम सेनाले दिएको छ । ‘आठै पृतनाबाट सहभागी सैनिकले अब आफू कार्यरत युनिटमा गई कोरोना भाइरससम्बन्धी सचेतनामूलक कार्यक्रम सञ्चालन गर्ने तथा आवश्यकबमोजिम स्थानीयस्तरमा क्वारेन्टाइन क्याम्प स्थापनासहित भाइरस संक्रमण रोकथाम र नियन्त्रणको काम गर्नेछन्,’ पाण्डेले भने ।

सरकारको निर्णयबमोजिम कोरोना भाइरसको उच्च जोखिमविरुद्ध रोकथाम र नियन्त्रणका लागि उपलब्ध भएका सबै उपाय अवलम्बन गर्न प्रतिबद्ध रहेको सेनाले जनाएको छ । 

यसअघि चीनबाट ल्याइएका १७५ नेपालीलाई खरिपाटीस्थित नेपाल विद्युत् प्राधिकरणको क्वारेन्टाइन व्यवस्थापन गरेको सेनाले अहिले काठमाडौंको छाउनी अस्पताल तथा सबै पृतना एवं क्षेत्रीय सैनिक अस्पतालमा तयारी थालेको हो ।

सो क्वारेन्टाइन केन्द्र पनि भविष्यका लागि उपयोगमा ल्याउने गरी सरकारले तयारी अवस्थामा राखेको छ । 

सबै पृतनामा कम्तीमा दुईवटा र नेपालगन्ज, पोखरा र धनगढीस्थित क्षेत्रीय सैनिक अस्पतालमा पनि कम्तीमा दुई–दुईवटा आइसोलेसन वार्ड तयार भएका छन् । ‘फिल्ड एम्बुलेन्समा समेत गरेर हामी ५२ वटा आइसोलेसन बेड तयार गर्दै छौँ । तत्कालका लागि हामीले आन्तरिक प्रयोजनका लागि उपयोग गर्नेछौँ,’ पाण्डेले भने । 

सेनाले ब्यारेकमा रहेका खुला स्थानमा कम्तीमा ३० बेडदेखि ८४ बेडसम्मको टेन्ट राख्ने पनि तयारी गरेको छ । ०७२ को भूकम्पमा आएका टेन्ट सेनाले आठैवटा पृतना र मातहतका ब्यारेकका लागि पठाएको छ ।

‘तालिमका क्रममा टेन्ट पनि तयार हुँदै जान्छन्, सरकारी निर्णयका आधारमा भविष्यमा सैनिक र गैरसैनिकका लागि यो प्रयोग गर्छौँ,’ पाण्डेले भने, ‘सरकारी निर्णय नहुन्जेलका लागि भने सैनिक जनशक्तिका लागि यो प्रयोग हुन्छ । हामीले अहिले खुला स्थान हेरेर कतिसम्म टेन्ट राख्न सकिन्छ बुझ्नू भन्ने निर्देशन पठाएका छौँ ।’ 

पाण्डेका अनुसार सेनाले ब्यारेकबाहिर पिटी परेड खेल्न सामूहिक रूपमा ब्यारेक बाहिर निस्कन रोक लगाइसकेको छ । नियमित ज्वरो जाँच्न र हरेक ब्यारेकमा साबुनले हात धुने व्यवस्था मिलाइएको छ । आइसोलेसन वार्ड बनाउने र सफा गर्ने उपाय पनि सेनाले बताएको छ । नयाँ पत्रिका

प्रतिक्रिया दिनुहोस्
           
सामाजिक संजालमा हामी
सूचना विभाग, दर्ता प्रमाणपत्र नं. ३८६/०७३-७४
सम्पर्क
देशको मिडिया प्रा.लि. काठमाडौँ, नेपाल
इमेलः [email protected]
फोन : ०१-४१०७६६६
           
संस्थापक / प्रधान सम्पादक : ध्रुब सुबेदी
     
           
facebook
© 2022 Deshko News