संविधान कार्यान्वयन गर्न काँग्रेस महत्वपूर्ण भूमिका खेल्छ : नेता प्रकाशमान सिंह


 


काठमाडौँ,  भदौ ३०  नेपाली काँग्रेसका नेता प्रकाशमान सिंहले काँग्रेस नेतृत्वमा बनेको संविधानलाई कार्यान्वयनमा लान आफ्नो पार्टीले महत्वपूर्ण भूमिका खेल्ने बताउनुभएको छ ।

नेपाल तरुण दल काठमाडौँद्वारा आज यहाँ आयोजित ‘निर्वाचित पदाधिकारी तथा सदस्यको पद हस्तान्तरण’ कार्यक्रममा नेता सिंहले संविधान कार्यान्वयन अहिलेको मुख्य चुनौती भएकाले सबै दल एकजुट हुनुपर्ने बताउनुभयो ।
नेता सिंहले डेढ वर्षभित्र स्थानीय, प्रान्तीय र केन्द्रीय निकायको निर्वाचन गर्न निकै जटिल रहेको बताउनुभयो । उहाँले भन्नुभयो – “तीनवटा निकायको निर्वाचन गर्न दलबीच चाँडोभन्दा चाँडो राजनीतिक सहमति हुन आवश्यक छ ।”

नेका काठमाडौँ क्षेत्र नं १० का सांसद राजेन्द्रकुमार केसीले काँग्रेसको विचारलाई आमयुवा माझ लैजान मेरुदण्डको रुपमा रहेको तरुण दलको ठूलो भूमिका रहने बताउनुभयो ।

नेका काठमाडौँ जिल्ला सभापति सबुज बानियाँले सबै तरुणको भावनालाई समेटेर अगाडि बढ्न नेतृत्वलाई आग्रह गर्नुभयो ।
कार्यक्रममा तरुण दलका निवर्तमान अध्यक्ष गोकर्ण केसीले निर्वाचित सभापति कृष्णजी खड्कालाई पद हस्तान्तरण गर्नुभएको थियो ।

प्रकाशित मिति: ३० भाद्र २०७३, बिहिबार

प्रतिक्रिया दिनुहोस्