एनआईसी एशिया बैंकका नियमित काउण्टर सेवाहरु मात्र सञ्चालन हुने


 


काठमाडौं, चैत्र १०
कोरोना भाइरसको सम्भावित महामारीको विषम परिस्थितिलाई ध्यानमा राखेर एनआईसी एशिया बैंक लिमिटेडले आफ्नो ३१९ शाखा तथा १०८ एक्टेन्सन काउण्टरहरू मार्फत नियमित काउण्टर सेवा बाहेकका अतिरिक्त काउण्टर र बिदा काउण्टर सेवाहरु अर्काे सूचना जारी नभएसम्मका लागि बन्द गरेको छ ।

बैंकका कलंकी, क्षेत्रपाटी, थानकोट, बालाजु, बौद्ध, बनेपा, अत्तरिया, महेन्द्रनगर, गाईघाट, लेकसाइड (पोखरा), इलाम, जनकपुर, मलंगवा, लहान र धनगढी हस्पिटल लाइन शाखाहरूबाट सेवा दिँदै आएको बिहान ९ बजे देखि साँझ ७ बजेसम्मको अतिरिक्त काउण्टरहरू तथा कमलादी, कर्पोरेट कार्यालय, न्यूरोड (खिचापोखरी), पोखरास्थित न्यूरोड र भक्तपुर (शनिवार मात्र सेवा) शाखाहरूमार्फत प्रदान गरिने बिदा काउण्टर सेवाहरु २०७६ चैत्र १० देखि बन्द रहनेछन् ।

तर बैंकको नियमित काउण्टर सेवाहरू भने बैंकका सम्पूर्ण ३१९ शाखा तथा १०८ एक्टेन्सन काउण्टरमा बिहान ९ः४५ बजेदेखि दिउँसो ४ बजेसम्म (शुक्रबार बिहान ९ः४५ बजेदेखि दिउँसो १ बजेसम्म) यथावत सञ्चालन हुनेछन् ।

कोरोना भाइरसको संक्रमणको जोखिम कम गर्न नोट कारोबारको सट्टा कार्ड तथा डिजिटल बैंकिङ्ग कारोबार गर्न बैंकले आग्रह गरेको छ ।

यस कठिन परिस्थितिमा आफ्ना ग्राहक महानुभावहरूको सुविधालाई मध्यनजर गर्दै यस बैंकले मोबाइल बैंकिङ्ग तथा ईन्टरनेट बैंकिङ्ग लगायत विद्युतीय बैंकिङ्ग माध्यमबाट अन्तर बैंक रकम स्थानान्तरण, बिजुली महसुल, खानेपानी महसुल, हवाई टिकट, ईन्टरनेट सेवा, बीमा तथा टेलिफोन शुल्क लगायतका भुक्तानीहरू निःशुल्क ग्राहक महानुभावहरूले घरमै बसी गर्न सक्नुहुनेछ । साथै, घरमै बसी खाता खोल्ने सुविधा पनि बैंकले दिएको छ । कोरोना भाइरसको जोखिम कम गर्न नोट कारोबारको सट्टा कार्ड तथा विद्युतीय कारोबारको माध्यम प्रयोग गर्नु उचित देखिएकाले सकेसम्म ग्राहक महानुभावलाई विद्युतीय माध्यमबाट भुक्तानीको काम गर्न बैंक प्रोत्साहन गर्दछ ।

ग्राहक महानुभावहरूले कुनै सेवा लिए वापत तथा सामान खरिद गर्दा त्तच् सेवाबाट पनि निःशुल्क भुक्तानी गर्न सक्नुहुन्छ । यसका साथै, बैंकको डेबिट तथा क्रेडिट कार्ड प्रयोग गरी गर्न सकिने कार्ड स्वाइप तथा ई–कमर्श भुक्तानी पनि निःशुल्क उपलब्ध छन् । नेपालभरका कुनै बैंक तथा वित्तीय संस्थाहरूको कार्ड वाहकले एन आई सी एशिया बैंकको एटिएम प्रयोग गर्दा शुल्क नलाग्ने र यस बैंकको कार्ड वाहकले अन्य कुनै बैंक तथा वित्तीय संस्थाहरूको एटिएम प्रयोग गर्दा कुनै शुल्क नलाग्ने व्यवस्था गरिएको छ ।

प्रकाशित मिति: १० चैत्र २०७६, सोमबार

प्रतिक्रिया दिनुहोस्