निजी क्षेत्रलाई प्रोत्साहन गर्न सरकार तयार : महरा


 


mahara

पोखरा,  भदौ ३१ उपप्रधानमन्त्री कृष्णबहादुर महराले निजी क्षेत्रलाई प्रोत्साहन गर्न सरकार तयार रहेको बताउनुभएको छ ।

पोखरा उद्योग वाणिज्य सङ्घको ३१ औँ महाधिवेशनको आज यहाँ उद्घाटन गर्दै अर्थमन्त्रीमन्त्रीले निजी क्षेत्रले सरकार र सरकारले निजी क्षेत्रलाई सहयोग गरेमा मात्रै देशको आर्थिक समृद्धि सम्भव हुने धारणा राख्नुभयो ।

पोखराको निर्माणाधीन अन्तर्राष्ट्रिय विमानस्थलको धावनमार्ग दुई हजार ५०० मिबाट तीन हजार मि बनाउन थप जग्गाको अधिग्रहणको काम छिटो अघि बढाइने जानकारी दिँदै उहाँले पोखरामा चक्रपथ तथा पोखरादेखि मुस्ताङ र लुम्बिनी जोड्ने राजमार्गको स्तरोन्नतिको काम छिट्टै सुरु गरिने बताउनुभयो ।

सो अवसरमा नेपाल उद्योग वाणिज्य महासङ्घका कावा अध्यक्ष किशोरकुमार प्रधानले उद्योग वाणिज्य सङ्घको निर्वाचनमा राजनीतिक हस्तक्षेप हुन लागेकामा दुःख व्यक्त गर्नुभयो ।

नेपाल उद्योग वाणिज्य महासङ्घका पूर्वअध्यक्ष आनन्दराज मुल्मीले आर्थिक समृद्धिको नाराभन्दा काम गरेर अघि बढ्न सरकारसँग आग्रह गर्नुभयो ।

सो अवसरमा लक्ष्मी विद्या पदक र नगदबाट विद्यार्थीलाई सम्मान गरिएको थियो । सो पदकबाट एमबिएसमा सर्वोत्कृष्ट अङ्क ल्याउने पृथ्वीनारायण क्याम्पसका लक्ष्मण कुँवर, बिबिएसमा जनप्रिय बहुमुखी क्याम्पसका कृष्णमुरारी पौडेल र नवराज भण्डारी पुरस्कृत भएका थिए । एमबिएसमा सर्वोत्कृष्ट हुने कुँवरले रु २५ हजार र बिबिएसका पौडेल र भण्डारीले रु १५÷१५ हजार पाउनुभएको थियो ।

सोही अवसरमा उत्कृष्ट उद्योग तथा वाणिज्य क्षेत्रका उद्यमीलाई पनि सम्मान गरिएको थियो । महाधिवेशनले सङ्घको नयाँ नेतृत्व पनि चयन गर्ने कार्यक्रम छ ।

प्रकाशित मिति: ३१ भाद्र २०७३, शुक्रबार

प्रतिक्रिया दिनुहोस्