निगमको अस्ट्रेलिया चार्टर्डमा एजेन्ट घुसाएर साढे ४५ लाख कमिसन


 



काठमाडौं, चैत २०
क्वालालम्पुर–ब्रिसवेन जाउआउ २६ घन्टा उडानका लागि प्रतिघन्टा १८ हजार एक सय अमेरिकी डलरका दरले जहाज बुक भएको सञ्चारमाध्यमलाई जानकारी दिएका थिए ।

यो हिसाबमा निगमले सीधै चार लाख ७० हजार ६ सय डलर पाउने पक्का थियो । बुधबारको डलरको भाउअनुसार पाँच करोड ७१ लाख १२ हजार १६ रुपैयाँ निगमलाई हात लाग्थ्यो । 

तर, बुधबार घटना पूरै मोडियो । निगमले बोन ट्राभल्समार्फत १४ जना बिजनेस क्लासका टिकट बिक्री गर्‍यो । यसको प्रतिव्यक्ति २३ सय डलरका दरले ३२ हजार दुई सय डलर हुन्छ । त्यस्तै, ट्राभल्सले अन्य दुई सय ३६ यात्रुलाई प्रतिव्यक्ति एक हजार सात सय ९५ डलरका दरले इकोनोमी क्लासको टिकट बिक्री गर्यो ।

यसको चार लाख २३ हजार ६ सय २० डलर हुन्छ । सबै दुई सय ५० यात्रुको चार लाख ५५ हजार आठ सय २० डलर अर्थात् बुधबारको डलर भाउअनुसार पाँच करोड ५३ लाख १८ हजार तीन सय १५ रुपैयाँ हुन्छ । 

दूतावासले सीधै चार्टर्ड गर्दाभन्दा ट्राभल्समार्फत जाँदा निगमलाई १७ लाख ९३ हजार रुपैयाँ कम भाडा उठ्ने भएको छ । त्यस्तै, ट्राभल्सले वैधानिक रूपमै ५ प्रतिशत कमिसनबापत २७ लाख ६५ हजार नौ सय १५ रुपैयाँ लैजान्छ । यसरी निगमलाई सीधै साढे ४५ लाख रुपैयाँ घाटा लागेको छ । 

निगमका वाणिज्य विभाग प्रमुख टंकनिधि दाहाल भने अस्ट्रेलियन दूतावासकै आग्रहमा बोन ट्राभल्सलाई चार्टर्ड गर्न लगाइएको दाबी गर्छन् । ‘दूतावासले आधिकारिक ट्राभन्स बोन भएकाले सोहीमार्फत चार्टर्ड गर्न भनेपछि सोहीअनुसार गरियो,’ दाहालले भने । 

तर, नागरिक उड्डयन प्राधिकरणको पत्रमा अस्ट्रेलियन दूतावास नै चार्टर्ड पार्टी भएको उल्लेख छ । निगमको एयरबस ३३०–२४३ सिरिजको जहाज उडानका लागि प्राधिकरणले दिएको अनुमतिपत्रमा निवेदक नेपाल वायुसेवा निगम तथा चार्टर्ड पार्टी अस्ट्रेलियन दूतावास भनेर स्पष्ट खुलाइएको छ । यसले पनि बोन ट्राभल्सलाई चलखेल र कमिसनका लागि मात्रै बीचमा घुसाइएको बुझ्न सकिन्छ । 

तर, दाहाल भने कूटनीतिक नियोगले चार्टर्ड गरेको उल्लेख गर्दा अनुमति पाउन सजिलो हुने भएकाले चार्टर्ड पार्टीमा दूतावास राखिएको दाबी गर्छन् । ‘अहिले विश्वभरि बन्द छ, उडान अनुमतिलाई समस्या हुने भएकाले प्राधिकरणमा चार्टर्ड पार्टी दूतावास नै उल्लेख गरिएको हो,’ दाहालले भने । निगमको जहाज अस्ट्रेलिया र न्युजिल्यान्डका दुई सय ५० नागरिक लिएर बुधबार साँझै उडेको छ । नयाँ पत्रिका

प्रकाशित मिति: २० चैत्र २०७६, बिहिबार

प्रतिक्रिया दिनुहोस्