उच्च क्षमताको कोरोना परीक्षण मेसिन गुपचुप राखेर नयाँ माग


 


पोखरा, चैत्र २५
कोरोना परीक्षण गर्न पिसिआर मेसिन र किट नभएको भन्दै गण्डकी प्रदेश सरकारले सुरुका केही दिन सम्भावित संक्रमितको नमुना संकलन गर्दै काठमाडौंस्थित राष्ट्रिय जनस्वास्थ्य प्रयोगशालामा पठायो। मेसिन र किट अभाव भएको ठानेर संघीय सरकारले अघिल्लो साता कोरोना परीक्षण गर्ने एउटा पोर्टेबल मेसिन, केही किट, आवश्यक सामग्री र प्राविधिक पोखरा पठायो।

दुई लाख रुपैयाँ बढी भाडा तिरेर हेलिकोप्टरमा ती सामान ल्याइएपछि पोखरामै सम्भावित कोरोना संक्रमितको नमुना परीक्षण थालिएको भनेर प्रचारप्रसार गरियो। काठमाडौंबाट ल्याइएको मेसिनबाट नमुना परीक्षण सुरु भएको सबैतिर चर्चा भयो। तर पोखरा स्वास्थ्य विज्ञान प्रतिष्ठान (पश्चिमाञ्चल क्षेत्रीय अस्पताल) को प्रयोगशालामा रहेको अर्काे पिसिआर मेसिनबारे भने सबै मौन बसे।

काठमाडौंबाट हेलिकोप्टर चार्टर गरेर ल्याइएको मेसिनभन्दा धेरै गुणा क्षमतायुक्त र भरपर्दाे मेसिन पोखरामै (पश्चिमाञ्चल क्षेत्रीय अस्पताल) भए पनि यहाँ कोरोना परीक्षण प्रयास नगरी मेसिन र किट नभएको भन्दै संकलित नमुना काठमाडौं पठाइयो। पोखरामा रहेको सो मेसिन बिग्रिएको भनेर पदाधिकारी पन्छिन खोजे।

अघिल्लो साता पोखरा ल्याइएको कोरोना भाइरस परीक्षण मेसिनले दैनिक बढीमा १२ वटा नमुनाको रिपोर्ट दिन सक्छ। तर यहाँ रहेको पुरानो मेसिनले दुई सिफ्ट चलाउँदा दैनिक एक सय ४० वटासम्म नमुना परीक्षण गर्न सक्छ। उच्च क्षमताको मेसिन हुँदाहुँदै पनि सुरुमै प्रयोगमा नल्याउनुले संशय उब्जाएको छ।
पोखरामै रहेको क्षमतायुक्त मेसिनमा किट झिकाएर नमुना परीक्षण थाल्न सकिने अवस्था रहँदा पनि मेसिन नभएको भन्दै काठमाडौं पठाएर उच्चपदस्थ पदाधिकारी गैरजिम्मेवार बनेको गण्डकी प्रदेश स्वास्थ्य निर्देशनालयका अधिकारीको भनाइ छ। निर्देशनालयका एक अधिकारीका अनुसार संघीय सरकारले साताअघि पठाएको पोर्टेबल पिसिआरभन्दा क्षेत्रीय अस्पताल प्रयोगशालामा रहेको मेसिन निकै गुणस्तरयुक्त, भरपर्दाे र क्षमतायुक्त छ। तर, अस्पतालका पदाधिकारीले त्यो मेसिन प्रयोगमा ल्याउन नचाहेर गुपचुप राखेको ती अधिकारीले बताए।

‘एक महिना अघिसम्म साह्रै नै भरपर्दाे मेसिन पोखरामै छ। कोरोना परीक्षण पोखरामै भइहाल्छ भनेर अस्पतालका पदाधिकारी बोल्दै हिँडे,’ निर्देशनालयका ती अधिकारीले भने, ‘तर जब परीक्षण गर्नुपर्ने अवस्था आयो, त्यो बेला भने मेसिन बिग्रिएको भनेर पन्छिए।’

ती अधिकारीका अनुसार कामको भार थपिने र जोखिमको भयले अस्पतालले नै त्यो मेसिन गुपचुपमा राख्न खोजेको बुझिन्छ। सफ्टवेयर अपडेट गरेर आवश्यक किट झिकाएर सहजै परीक्षण गर्न सकिने सम्भावना हुँदाहुँदै अस्पतालले त्यसतर्फ चासो नदिएको उनले बताए। ‘सुरुमा आफूसँग भएको मेसिन प्रयोग नगरेर लुकाएर राख्न खोजियो, नयाँ मेसिन पाउने लोभ हो वा अरु भन्न सकिएन,’ निर्देशनालयका ती अधिकारीले भने, ‘अप्ठेरो परेका बेला भएभरको उपाय लगाउनुपर्नेमा मेसिन नै लुकाउने प्रयास गरियो। जिम्मेबारीबाट पन्छिने नियतले यसो गरिएको हुनसक्छ।’

नयाँ मेसिन कहाँ राख्ने भन्ने विषयमा सुरुमा प्रदेश सरकार र पोखरा स्वास्थ्य विज्ञान प्रतिष्ठानका अधिकारीबीच विवाद नै भएको थियो। तर छलफलपछि प्रतिष्ठानकै प्रयोगशाला भवनमा राखेर कोरोना भाइरस परीक्षण गर्ने सहमति जुटेको थियो। सुरुमा प्रष्ठिानका पदाधिकारीले आफ्नो प्रयोगशालामा ठाउँ नरहेको भनेर कोरोना परीक्षण गर्ने उपकरण राख्न चाहेका थिएनन्। प्रतिष्ठानका पदाधिकारी नजिकैको क्षयरोग केन्द्रमा कोरोनाको ल्याब स्थापना गर्ने पक्षमा थिए।

‘जब पोखरामा पनि मेसिन छ भन्ने प्राविधिकबीच चर्चा सुरु भयो, त्यसपछि कोरोना परीक्षण गर्ने रि–एजेन्ट (कोरोना भए नभएको परीक्षण गर्ने रसायन) छैन भन्न थालियो,’ ती अधिकारीले भने, ‘काठमाडौंबाट आएका प्राविधिकले ल्याएको रि–एजेन्ट प्रयोग गरेपछि पुरानो मेसिनले सहजै परीक्षण गर्ने रहेछ तर सकेसम्म त्यो मेसिनबारे थाहै नदिएर उच्च पदस्थ पदाधिकारी पन्छिन खोजे।’ ती अधिकारीका अनुसार क्षेत्रीय अस्पताल प्रयोगशालाको मेसिन र काठमाडौंस्थित राष्ट्रिय जनस्वास्थ्य प्रयोगशालामा रहेको मेसिन एकैखालको हो। जनाकारहरूका अनुसार नेपालमा यी दुई प्रयोगशालामा मात्र यो गुणस्तरको मेसिन छ। तर क्षेत्रीय अस्पतालका पदाधिकारीले भने मेसिन बिग्रिएको भनेर पन्छिन खोजेको उनले बताए।

‘काठमाडौंबाट आएका प्राविधिकले पोखराको मेसिनबारे सोधखोज गरेपछि मात्र नबिग्रिएको थाहा भयो। रि–एजेन्ट भए मात्र पुग्ने रहेछ,’ ती अधिकारीले भने, ‘काठमाडौंबाट आएका प्राविधिकले नै रि–एजेन्ट ल्याएका रहेछन्। मेसिनले तत्कालै काम ग¥यो। सकेसम्म मेसिनबारे थाहै नदिने नियत रहेछ।’

अघिल्लो साता पोखरा ल्याइएको पिसिआर मेसिनको दैनिक क्षमता बढीमा १२ वटा नमुना परीक्षणको छ। तर, यहाँ रहेको पुरानो मेसिन दुई सिफ्ट चलाउँदा दैनिक १४० वटासम्म नमुना परीक्षण गर्न सकिन्छ। ‘दिनमा १४० वटा नमुना परीक्षण गर्ने मेसिन लुकाएर १२ वटा नमुना परीक्षण गर्ने मेसिनबारे चर्चा बढी चलाइयो,’ निर्देशनालयका ती अधिकारीले भने, ‘काठमाडौंका प्राविधिकलाई जानकारी नहुँदो हो र उनीहरु नआएको भए त यहाँको परीक्षण कछुवा गतिमा चल्ने रहेछ। पुरानो मेसिन प्रयोगमा ल्याइएपछि अहिले सहजै परीक्षण भएको छ।’

ती अधिकारीका अनुसार नयाँ मेसिनमा गरिएको भन्दा पुरानो मेसिनको परीक्षण भरपर्दाे मानेर अहिले पहिला नयाँमा र पछि पुरानोमा गरेर परीक्षण रिपोर्ट यकिन गरिन्छ। ‘पुरानो मेसिन विश्व स्वास्थ्य संगठनबाट मान्यता प्राप्त हो। ‘ढुक्कले सुरुदेखि नै पोखरामा कोरोना परीक्षण गर्ने अवस्था हुँदाहुँदै पनि जिम्मेवार पदाधिकारी पन्छिए’, ती अधिकारीले भने, ‘पुरानो मेसिनको काम सतप्रतिशत सफल छ। बरु नयाँ मेसिनबारे भन्न सकिन्न। नयाँभन्दा पुरानो विश्वासिलो छ।’

प्रतिष्ठानका एक वरिष्ठ पदाधिकारीका अनुसार पोखरामा यो मेसिन छ भनेर काठमाडौंस्थित राष्ट्रिय जनस्वास्थ्य प्रयोगशालाका प्राविधिकलाई थाहा थियो। एक करोड रुपैयाँभन्दा बढी मूल्य पर्ने त्यो मेसिन भाइरल परीक्षणका लागि प्रयोगमा ल्याउने गरिएको थियो। तर अस्पतालका पदाधिकारीले यो मेसिनले कोरोना भाइरस परीक्षण गर्दैन भनेपछि आफूहरुले प्रदेश सरकारलाई पनि त्यही अनुुसार जानकारी गराएको ती पदाधिकारीले बताए। ‘भाइरल ल्याबका लागि त्यो मेसिन प्रयोगमा थियो। बीचमा केही समय बिग्रेको पनि हो। तर मर्मत भइसकेको रहेछ,’ प्रतिष्ठानका ती पदाधिकारीले भने, ‘प्रयोगशालाका प्राविधिकले यो मेसिनले काम गर्दैन भनेपछि हामी पत्याउन बाध्य भयाैं। गहिरिएर बुझ्दा त सबैभन्दा राम्रो मेसिन पोखरामै रहेछ।

काठमाडौंबाट आएका प्राविधिकले ल्याएको रि–एजेन्ट प्रयोग गरेपछि पोखरामा रहको मेसिनले सहजै काम गरेको उनले बताए। ‘प्राविधिक र रि–एजेन्ट ल्याएर परीक्षण गरेको भए धेरै पहिले नै पोखरामै कोरोनाबारे यकिन हुने रहेछ तर हामी सबैलाई अन्योलमा पारियो,’ ती पदाधिकारीले भने, ‘पुरानो मेसिनले काम गर्दैन, नयाँ मेसिन चाहिन्छ भनेपछि हामीले पनि पत्याउनु प¥यो। हामी प्राविधिक होइनौं। पुरानो मेसिनले काम गर्दैन भनेपछि नयाँ माग गरिएको हो।’

अस्पतालका निर्देशक डा. अर्जुन आचार्यका अनुसार दुई वर्षअघि उक्त मेसिन पोखरा भित्रिएको हो। त्यस मेसिनबाट एचआइभी एड्स परीक्षण हुने गरेको थियो। ‘रि–एजेन्ट ल्याएर केही सफ्टवेयर अपडेट गरेपछि मेसिनले कोरोना परीक्षण पनि ग-यो। हामीलाई सुरुमा यो मेसिनले काम गर्छ जस्तो लागेको थिएन,’ उनले भने, ‘सरकारले काठमाडौंबाट विज्ञ पठाएर मेसिन जाँच्न पनि सक्थ्यो तर त्यो गरेन।’ उनले पनि नयाँभन्दा पुरानो मेसिन धेरै शक्तिशाली रहेको बताए।

गण्डकी प्रदेश स्वास्थ्य निर्देशनालयका निर्देशक डा. विनोदविन्दु शर्माले प्राविधिक आएपछि मात्र पुरानो मेसिनबारे यकिन भएको बताए। ‘त्यसले कोरोना परीक्षण गर्छ या गर्दैन भनेर यकिन थिएन। तर अपडेट गरेपछि काम ग¥योे,’ उनले भने, ‘अहिले सहज भएको छ।’ नागरिक दैनिकबाट

प्रकाशित मिति: २५ चैत्र २०७६, मंगलबार

प्रतिक्रिया दिनुहोस्