अनियमितताको आरोपमा महासेनानीसहित पाँच जनालाई कारबाही



काठमाडौं, जेठ १०
नेपाली सेनाका महासेनानीसहित पाँच जना कर्मचारी सम्पत्ति र अनुशासन तथा आचरणसम्बन्धी कसुरमा कारबाहीमा परेका छन् ।

समरी जनरल सैनिक अदालतको गत मंगलबारको निर्णयअनुसार श्री सैनिक आवासीय महाविद्यालय भक्तपुरमा कार्यरत रहँदा सम्पत्ति र अनुशासन तथा आचरणसम्बन्धी कसुर गरेको अभियोगमा उनीहरुउपर सैनिक ऐन २०६३ बमोजिम कारबाहीको फैसला भएको हो ।

जसअनुसार महासेनानी भुपालमान अधिकारीले महाविद्यालयमा सम्पर्क अधिकृत रहँदा आर्थिक अनियमितता गरेकाले भविष्यमा सरकारी सेवाका निमित्त अयोग्य नठहरिने गरी दुई महिना कैद गर्न र सेवाबाट हटाउन आदेश भएको छ ।

उनीउपर गैरकानुनी रूपमा आर्थिक उपार्जन गरेको भन्दै १ करोड ८५ लाख ४० हजार १ सय आठ रुपैयाँ एघार पैसा बिगो रकम असुल गर्न आदेश भएको छ । यसैगरी, प्रमुख सेनानी देवबहादुर क्षत्रीले आर्थिक अनियमितता गरी दोषी ठहरिएकाले सैनिक ऐनअनुसार दुई बर्ष बढुवा रोक्का गर्ने र निजबाट ४ लाख ४० हजार रुपैयाँ असुल गर्न आदेश भएको छ ।

यस्तै, हुद्धा यज्ञराज पोखरेलले आर्थिक अनियमितता गरी दोषी ठहरिएकाले भविष्यमा सरकारी सेवाका लागि अयोग्य नठहरिने गरी सेवाबाट हटाउने र निजबाट ३ लाख ६० हजार असुल उपर गर्न आदेश भएको छ ।

यसैगरी, हुद्धा गणेशबहादुर अधिकारीलाई दुई वर्ष तलब वृद्धि ९ग्रेड० रोक्का गर्ने र निजले हिनामिना गरेको देखिन आएको १० हजार रुपैैयाँ असुलउपर गर्ने निर्णय भएको छ ।

यस्तै, लेखातर्फका आ। सहसेनानी सुरेन्द्रविक्रम भण्डारीले कानुनी प्रक्रिया अवलम्बन नगराई सैनिक ऐनविपरीत काम गरेको ठहरिएकाले नसिहत दिने आदेश भएको छ । सोही मुद्दामा अन्य १३ जनाले अभियोग मागदाबीबाट सफाइ पाउने गरी ठहर फैसला भएको छ ।

सैनिक कल्याणकारी कोषको लगानीमा सञ्चालित श्री सैनिक आवासीय महविद्यालय भक्तपुरमा आर्थिक अनियमितता भएको भन्ने सम्बन्धमा सत्यतथ्य छानबिन गर्न सहायक रथीको अध्यक्षतामा कोर्ट अफ इन्क्वायरी बोर्ड गठन भएको थियो ।

सैनिक ऐन, २०६३ मा जनरल सैनिक अदालत र समरी जनरल सैनिक अदालतबाट फैसला वा अन्तिम आदेशमाथि चित्त नबुझे पीडित पक्षले विशेष अदालतमा पुनरावेदन दर्ता गर्न सक्ने प्रावधान छ । पुनरावेदन ३५ दिनभित्र गरिसक्नुपर्ने व्यवस्था छ ।

प्रतिक्रिया दिनुहोस्
सामजिक संजालमा हामी
सूचना विभाग, दर्ता प्रमाणपत्र नं. ३८६/०७३-७४
सम्पर्क
देशको मिडिया प्रा.लि. काठमाडौँ, नेपाल
इमेलः [email protected]
फोन : ०१-४१०७६६६
           
सम्पादक : अंकुश कुँवर
     
           
facebook
© 2020 Deshko News