भारतमा कोरोना संक्रमित बढेको बढ्यै, असर नेपालमा



काठमाडौं, जेठ १८
भारतमा कोरोना भाइरस कारण सङ्क्रमित हुनेहरुको संख्यामा बृद्धि हुँदै गएको छ । यसले नेपालमा पनि संख्या बढ्ने निश्चित भएको छ ।

अघिल्ला दिनहरुको तुलनामा पछिल्ला दिनमा सङ्क्रमित हुनेहरुको संख्या बढ्दै गइरहेको तथ्यांकले देखाएको छ । त्यस्तै भारतबाट नेपालीहरु आउने क्रम पनि बढेका कारण यता पनि असर देखिन थालेको छ ।

पछिल्लो २४ घण्टामा भारतमा आठ हजार ३८० जना नयाँ सङ्क्रमित देखिएका छन् । योसँगै भारतमा कुल सङ्क्रमितको संख्या एक लाख ८२ हजार १४३ पुगेको अधिकारीहरुले जनाएका छन् ।

अघिल्ला दिनहरुमा दैनिक रुपमा सङ्क्रमित हुनेहरुको संख्या यो भन्दा थोरै रहेको थियो ।

त्यसैगरी कोरोनाकै कारण मृत्यु भएकाहरुको कुल संख्या पाँच हजार १६४ पुगेको केन्द्रीय स्वास्थ्य तथा परिवार कल्याण मन्त्रालयले जनाएको छ ।

मन्त्रालयका अनुसार भारतमा देशभरी ८९ हजार ९९५ जना अझै पनि सङ्क्रमित अवस्थामै रहेका छन् भने झण्डै उत्तिकै संख्या अर्थात् ८६ हजार ९८३ जना सङ्क्रमण मुक्त भएका छन् ।

“तथ्यांकलाई विश्लेषण गर्दा कुल सङ्क्रमित मध्ये ४७।७५ प्रतिशत सङ्क्रमित निको भएर घर फर्किएका छन्,” एक जना सरकारी उच्च अधिकारीले भने ।

कुल सङ्क्रमितहरुको संख्यामा विदेशीहरुको संख्या पनि जोडिएको मन्त्रालयले स्पष्ट पारेको छ । भारतमा दर्जनौं नेपालीहरु पनि कोरोनाभाइरसबाट सङ्क्रमित भएका छन् ।

शनिबार बिहानदेखि आइतबार बिहानसम्ममा भारतमा थप १९३ जनाको मृत्यु भएको पनि मन्त्रालयले जनाएको छ । तीमध्ये सबैभन्दा धेरै ९९ जनाको महाराष्ट्र राज्यमा मृत्यु भएको छ ।

त्यसैगरी दोस्रो धेरै गुजरातमा २७ जनाको मृत्यु भएको छ भने दिल्ली प्रदेशमा १८ जनाको मृत्यु भएको अधिकारीहरुले जानकारी दिएका छन् ।

उनीहरुका अनुसार मध्यप्रदेश र राजस्थानमा नौ, नौ जना, पश्चिम बंगालमा सात जना, तमिलनाडु र तेलङ्गानामा छ, छ जना, बिहारमा पाँच जना, उत्तर प्रदेशमा तीन जना, पञ्जाबमा दुई जना, हरियाणा र केरलामा एक एक जनाको कोरोनाका कारण पछिल्लो २४ घण्टामा मृत्यु भएको छ ।

प्रतिक्रिया दिनुहोस्
           
सामाजिक संजालमा हामी
सूचना विभाग, दर्ता प्रमाणपत्र नं. ३८६/०७३-७४
सम्पर्क
देशको मिडिया प्रा.लि. काठमाडौँ, नेपाल
इमेलः [email protected]
फोन : ०१-४१०७६६६
           
संस्थापक / प्रधान सम्पादक : ध्रुब सुबेदी
     
           
facebook
© 2021 Deshko News