कविता-भ्यागुताको बिहे


 


bilav_dhakal

विप्लव ढकाल

हतार छ मलाई आज
भ्यागुताको बिहेमा जन्त जानु छ!

सिमसारमा बजिरहेको होला नौमती बाजा!

शिरमा बाबरी फूलको मुकुट लगाएर

पाल्कीमा चढिसके होलान् दुलाहा राजा!

जलकुम्भी झारको गुन्द्रीमा बसेर

जुहारी खेलिरहेका होलान् आदिवासी चराहरु!

छमछम बजाउँदै भुइँफूलको पाउजु

उडिसके होलान् लोकन्ती भँवरा!

हिलोमा ‘ट्यार्र! … ट्यार्र!! ‘मङ्गल गीत गाउँदै

सङ्गीतका राजकुमारीहरुले

बोकिसके होलान् सगुनको थाली!

हे गाइने कीरा!

अँधेरी खोलामा जानु छ मैले, सिमसारतिर जानु छ

हतार छ मलाई आज

भ्यागुताको बिहेमा जन्त जानु छ!

म एउटा बूढो शङ्खे कीरा

अहिलेसम्म बाटोमै घसि्ररहेको छु!

मेरो वरिपरि बसेर रोइरहेका छन् धानचरीहरु!

बाटो छेकेर उनीहरु प्रश्न गर्छन् मलाई―

‘हामीले त रोपेका थियौं कलकलाउँदो धानको बोट

तर आज खेतमा कसरी फल्यो प्लास्टिकको चामल?

गोठमा भैंसी दुहुन गएकी थिइन् राजमती

तर आज बाल्टीमा कसरी भरियो कोकाकोलाको झोल?

काउलीको फूलमा बसेको माहुरी पातमाथि झार्छ किन?

निधारबाट पसिना खस्दा दुबोको मुना मर्छ किन?’

हे दमाई कीरा!

गैह्रीखेतमा जानु छ मैले, तालतलैया जानु छ

हतार छ मलाई आज

भ्यागुताको बिहेमा जन्त जानु छ!

बारीभरि लटरम्म फलेका छन् चाउचाउका प्याकेटहरु

जङ्गलमा किन दुश्मनहरु रोइरहेछन्?

चिम्सा आँखाहरु रोइरहेछन् कतै, चुच्चा नाकहरु रोइरहेछन्!

अङ्गोछा खोलेर रोइरहेछन् कोही, टोपी झिकेर रोइरहेछन्!

उनीहरुको आँसुमा भरिएको छ साइनाइड

उनीहरुको शरीरबाट झारिरहेको छ अजिनोमोतो!

गोजीमा नागरिकता जस्तो सुसाइड नोट बोकेर

सिमाना काटी कहाँ हराए तिनका सन्ततिहरु?

जलकुम्भीको आहालभित्र― को गर्दैछ भातको राजनीति?

साइत नबिगार भन्छु― सुन्दै सुन्दैनन् उनीहरु

हे फकिरा!

लेकैको कानेमा जानु छ मैले, औलको मानेमा जानु छ

हतार छ मलाई आज

भ्यागुताको बिहेमा जन्त जानु छ

 

प्रकाशित मिति: २१ आश्विन २०७३, शुक्रबार

प्रतिक्रिया दिनुहोस्