श्रीलंकामा आर्थिक संकट, आपतकाल घोषणा


 


कोलम्बो, चैत १९
श्रीलंकामा आपतकाल घोषणा गरिएको छ । आर्थिक संकटको विरोधमा सयौँ प्रदर्शनकारी राष्ट्रपतिको निवासतर्फ बढेको भोलिपल्ट सरकारले आपतकाल घोषणा गरेको हो। आपतकालसँगै सुरक्षा फौजलाई असीमित शक्ति प्रदान गरिएको छ।

राष्ट्रपति गोटाबाया राजापाक्षेले संदिग्धहरूलाई बिना कुनै मुद्दा चलाउन र हिरासतमा राख्न अनुमति दिने कडा कानूनको आह्वान गरेका छन्। राष्ट्रपतिको राजीनामा माग गर्दै प्रदर्शन भएपछि पछिल्ला घटनाक्रम विकसित भएका हुन्।

‘सार्वजनिक व्यवस्थाको संरक्षण र समुदायको जीवनका लागि अत्यावश्यक आपूर्तिका लागि आपतकाल घोषणा गरिएको’उनले भनेका छन्। सरकारले राजधानी कोलम्बोसहित पश्चिम प्रान्तमा शुक्रबार राति कफ्र्यू लगाएको थियो।

२ करोड २० लाख जनसंख्या भएको श्रीलंकाले सन् १९४८ मा बेलायतबाट स्वतन्त्र भएपछि पहिलो पटक ठूलो मन्दी सामना गरेको छ।

मूल्यवृद्धि आकासिएको छ भने दैनिक १० घण्टाभन्दा बढी लोडसेडिङ भएको छ । कागजको अभावमा परीक्षा नै स्थगित गरिएका छन्।

प्रकाशित मिति: १९ चैत्र २०७८, शनिबार

प्रतिक्रिया दिनुहोस्