पछिल्ला एक सातामा चामलको मूल्य बढ्यो


 


काठमाडौं, असार २९
पछिल्ला एक सातामा चामलको मूल्य प्रतिबोरा १०० देखि ११० रुपैयाँ बढेको छ । नेपालमा प्रतिबोरा १७ सयदेखि १९ सय रुपैयाँसम्म चामल पाउने गरेको छ । भारतमा चामलको मूल्य बढेको हल्ला आउने वित्तिकै नेपालका व्यापारी मौज्दात रहेको चामलसमेत बढाउन थालेका हुन् ।

नेपाल खाद्य किराना तथा थोक व्यवसायी सङ्घका अनुसार पछिल्ला चाररपाँच दिनदेखि नेपालमा प्रतिबोरा चामलको मूल्य १०० रुपैयाँ बढेको छ । सङ्घका अध्यक्ष देवेन्द्रभक्त श्रेष्ठले नेपाल चामलमा लगभग भारतमै निर्भर रहेको र हाल भारतमै चामल प्रतिकेजी पाँच रुपैयाँ भारतीय बढेको हुँदा प्रतिबोरा १०० रुपैयाँ बढ्नु स्वाभाविक भएको दाबी गरे ।

भारतमा प्रतिकेजी पाँच रुपैयाँ भारतीय बढ्दा त्यही चामल नेपालमा आइपुुग्दा १०० रुपैयाँ मात्रै बढ्नु एकदमै न्यूनतम मूल्य हो, उनले भने, “भारतमा बढेको मूल्य नेपालमा बढ्यो भने ढुवानीसहित जोड्दा प्रतिबोरा २०० रुपैयाँ हुन जान्छ ।”

नेपालमा अन्य खाद्यान्न, दाल, चिनी, तेलजस्तो चामल मौज्दात राख्न सक्ने अवस्था नरहेको र दैनिक आउने हुँदा भारतमा बढ्ने वित्तिकै नेपालमा बढेको उनको भनाइ छ ।

वाणिज्य, आपूर्ति तथा उपभोक्ता संरक्षण विभागले चामलका मिल तथा उद्योगी र खाद्यान्नका थोक व्यापारीसँग चामलको मूल्य बढ्नुको कारण पेस गर्न निर्देशन दिएको छ । गोरखापत्र दैनिकबाट

प्रकाशित मिति: २९ असार २०७९, बुधबार

प्रतिक्रिया दिनुहोस्