सानिमा रिलायन्स लाइफ इन्स्योरेन्स लिमिटेडको नामबाट एकीकृत कारोबार शुभारम्भ


 


काठमाडौं, चैत्र १०
नेपाल बीमा प्राधिकरणबाट जीवन बीमा व्यवसाय सेवा प्रदान गर्न ईजाजत प्राप्त कम्पनीहरु सानिमा लाईफ इन्स्योरेन्स लिमिटेड (गाभ्ने संस्था) र रिलायन्स लाइफ इन्स्योरेन्स लिमिटेड (गाभिने सस्था) ले सानिमा रिलायन्स लाईफ इन्स्योरेन्स लिमिटेडको नामबाट बिहीबार देखि जीवन बीमा सेवाको एकिकृत कारोवार एकीकृत कारोबार शुभारम्भ गरेका छन् ।

कम्पनीका अध्यक्ष ताराचन्द केडियाले बीमा प्राधिकरणका अध्यक्ष सूर्यप्रसाद सिलवाल समक्ष सपथ ग्रहण गरी आफ्नो कार्यभार सम्हाल्नुभएको छ ।

नव नियुक्त अध्यक्ष केडियाले कम्पनीको प्रधान कार्यालयमा एक विशेष समारोहका बीच एकीकृत कारोबार शुभारम्भ भएको घोषणा गर्नुभयो । साथै, उहाँले मर्जर पश्चात् प्राप्त हुने सिनर्जीका साथ उत्कृष्ट बाट सर्वोत्कृष्ट बन्ने लक्ष्य सहित बीमा क्षेत्रमा नँया कोशेढुंगा स्थापित गर्ने प्रण सहित अगाढि बढ्ने कुरा व्यक्त गर्नुभयो ।

दुबै कम्पनी मर्जर पश्चात् बनेको सानिमा रिलायन्स लाइफ इन्स्योरेन्स लिमिटेडको अधिकृत पूँजी रु.५ अर्ब, चुक्ता तथा जारी पूँजी ४.१८४ अर्ब, जीवन बीमा कोष ८.३४ अर्ब, जगेडा तथा कोषमा ७७.५९ करोड रहेको, शेयरधनी कोष ४.९६ अर्ब रहेको, यस वर्षको खुद नाफा २८.३० करोड, लगानी १३.५० अर्ब, यस बर्षको कुल बीमाशुल्क संकलन ३.७० अर्ब, कुल कायम रहेको बीमालेखको संख्या १०.९३ लाख र सक्रिय अभिकर्ता संख्या १२,५६० रहने छ । यसैगरी आजैबाट कम्पनीले हर्षोउल्लासका साथ नेपाल भरी रहेका १७५ शाखा तथा उपशाखाहरु मार्फत आफ्ना ग्राहकहरुलाई सेवा प्रदान गर्नेछ । दुबै कम्पनी १ः१ को शेयर अनुपातमा गाभिएका हुन् ।

विशेष समारोहमा नेपाल बीमा प्राधिकरणका अध्यक्ष सूर्यप्रसाद सिलवालले मर्जर पश्चात् बनेको सानिमा रिलायन्स लाईफ इन्स्योरेन्स लिमिटेडको इजाजतपत्र हस्तान्तरण गर्नुभयो ।

कार्यक्रमका प्रमुख अतिथि बीमा प्राधिकरणका अध्यक्ष सिलवालले कम्पनीले समयमा नै मर्जर गरि एकीकृत कारोबार गर्न सफल हुनु भएकोमा धन्यबाद ज्ञापन गर्दै उत्कृष्टबाट सर्वोत्कृष्ट बनी बीमा क्षेत्रलाई विश्वासिलो बनाउनुपर्ने कुरा व्यक्त गर्दै उहाँले मर्जरको चुनौतीहरुलाई समेत उजागर गर्नुभयो । संस्थागत सुशासन, दावी भुक्तानी, ग्राहकको सुविधा, भिन्न तथा नँया योजनाहरु ल्याउन तथा रिसर्च र कर्मचारीको बृत्ति विकासमा लगानी गर्न समेत सुझाव दिनुभयो ।

त्यसै गरी नेपाल धितोपत्र बोर्डका अध्यक्ष रमेश कुमार हमालले नँया कम्पनीलाई सफलताको शुभकामना व्यक्त गर्दै सुशासन, सेवाको गुणस्तर, ग्राहकको खर्च कटौती जस्ता विषयलाई ध्यानमा राखी अगाढि बढ्न सुझाव दिनुभयो ।

कार्यक्रममा साविक सानिमा लाईफ इन्स्योरेन्स लिमिटेडका अध्यक्ष कुमार कोइरालाले दुई प्रतिष्ठीत व्यापारिक घरानाबाट स्थापित दुबै उत्कृष्ट संस्थाहरु अझ थप सवल, सक्षम हुने विश्वासका साथ सफलताको शुभकामना व्यक्त गर्दै आफ्नो कार्यकालको स्मरण गर्नुभयो ।

कार्यक्रममा नायव प्रमुख कार्यकारी अधिकृत निराजन कँडेलले जीवन बीमा क्षेत्रमा प्रणालीको विकास, सुशासनको आभास, ग्राहक केन्द्रित योजनाहरु ल्याउने प्रतिबद्धता सहित कम्पनीको तर्फबाट भावी योजनाहरु प्रस्तुत गर्नुभयो ।

प्रकाशित मिति: १० चैत्र २०७९, शुक्रबार

प्रतिक्रिया दिनुहोस्