दर्ता भयो नेपालको पहिलो विद्युतीय बाइक ‘यात्री’


 


काठमाडौं, जेठ २ । नेपालको पहिलो विद्युतीय बाइक यात्री दर्ता भएको छ । बाइक निर्माता कम्पनी यात्री डिजाइन स्टुडियो प्रा.लि. कानूनी रुपमा दर्ता भएपछि बाइक पनि विधिवत रुपमा यातायात कार्यालयमा दर्ता भएको हो । सार्वजनिक भएको एक वर्षपछि सोमबार यात्री सरकारी निकायमा दर्ता भएको छ ।

यसअघि नेपालमा उत्पादित सवारीको दर्ता व्यवस्था नहुँदा यात्रीले बजार विस्तार गर्न सकेको थिएन । कम्पनीले ६ महिनादेखि उत्पादन कार्य नै रोकेको थियो । यात्रीले बिक्री गरेका बाइक दर्ता नभई नम्बर प्लेट नपाउने समस्या आएपछि यो विषयलाई लिएर धेरै आलोचना भएको थियो ।

लामो बहस र दबाबपछि यातायात व्यवस्था विभागले गत वैशाखमा विद्यमान यातायात व्यवस्थापन कार्यविधि निर्देशिका २०६० संसोधन गरेपछि यात्रीलगायत अन्य स्वदेशी सवारी निर्माता कम्पनीका लागि दर्ताको अवसर खुलेको हो ।

सो निर्देशिकामा थपिएको नयाँ बुँदामा नेपालमा जडान वा उत्पादन हुने सवारीको नयाँ दर्ता, सरुवा दर्ता, हेरफेर दर्ता, लिलाम दर्ता, पुनः दर्ता र नामसारी लगायतका प्रयोजनका लागि त्यस्तो सवारीको भन्सार प्रज्ञापनपत्र आवश्यक नपर्ने उल्लेख छ ।नयाँ व्यवस्था कार्यान्वयनमा आएपछि यात्रीले पहिलो पटक आफ्नो बाइक दर्ता गरेको हो । कम्पनीले सामाजिक सञ्जालमा एक पोस्ट गर्दै यात्री पी–१ बाइक दर्ता भएको जानकारी दिएको छ ।

प्रकाशित मिति: २ जेष्ठ २०८०, मंगलबार

प्रतिक्रिया दिनुहोस्