चन्द्रामामा पुग्न होडबाजी, जापानले प्रक्षेपण गर्यो चन्द्रमा मिसन


 


काठमाडौं, भदौ २२ । शक्तिशाली मुलुकहरुबीच चन्द्रमामा पुग्ने होडबाजी चलिरहेका बेला जापानले पनि आफ्नो अन्तरीक्षयान चन्द्रमामा प्रक्षेपण गरेको छ ।

हिजो (सेप्टेम्बर ७) जापानले आफ्नो चन्द्र मिसन लञ्च गरेको हो । तांगेसिमा स्पेस सेन्टरस्थित योशिनोबू लञ्च कम्प्लेक्सबाट अन्तरीक्षयान प्रक्षेपण गरिएको हो । यदि जापानी यान चन्द्रमामा सफलतापूर्वक अवतरण गर्न सकेमा जापान चन्द्रमामा पुग्ने विश्वको पाँचौँ देश बन्नेछ ।

यो जापानी चन्द्र मिसनको लागत करीब १३ अर्ब ३० करोड रुपैयाँ रहेको छ । जापानले गत अगष्ट २६ वा २८ मा चन्द्रमामा यान प्रक्षेपण गर्ने योजना बनाएको भएपनि खराब मौसमका कारण सेप्टेम्बर ७ मा सरेको हो ।

यो यान चन्द्रमामा पुग्न ६ महिना लाग्ने बताइएको छ । जापानी अन्तरीक्ष एजेन्सीका अध्यक्ष हिरोशी यामाकावाका अनुसार यानलाई त्यसको इन्धन धेरैभन्दा धेरै बचाउने गरी प्रक्षेपण गरिएको हो । यो यान आगामी फेब्रुअरीमा मात्रै चन्द्रमाको सतहमा अवतरण गर्नेछ ।

जापानको स्लिम ल्याण्डर चन्द्रमाको नियर साइड अर्थात् पृथ्वीबाट देखिने चन्द्रमाको हिस्सामा अवतरण गर्नेछ । यसलाई चन्द्रमाको समुद्र पनि भनिन्छ ।

अवतरण पछि स्लिमले चन्द्रमाको सतहमा रहेका चट्टानहरुको जाँच गर्नेछ, ताकि चन्द्रमाको उत्पत्तिको विषयमा जानकारी हासिल गर्न सकियोस् ।

जापानले अघिल्लो वर्ष पनि चन्द्रमामा यान पठाएको थियो । तर जापानको उक्त प्रयास असफल भएको थियो । ओमोतेनाशी नामक उक्त मून ल्याण्डर गत नोभेम्बरमा अवतरण हुनुपर्नेमा सम्पर्कविहीन भएको थियो ।

यसअघि भारतले हालै आफ्नो चन्द्रयान–३ मिसनलाई चन्द्रमाको दक्षिणी ध्रुवीय क्षेत्रमा सफल अवतरण गराउँदै इतिहास कायम गर्यो । तथापि रुसको लुना–२५ यान भने चन्द्रमामा दुर्घटनाग्रस्त भयो । उता अमेरिकाले पनि यही वर्ष दुईवटा चन्द्रमा मिसन पठाउने योजना बनाएको छ । –एजेन्सी

प्रकाशित मिति: २२ भाद्र २०८०, शुक्रबार

प्रतिक्रिया दिनुहोस्