नेपाल टी–२० लिग खेलेको पैसा नपाएको भन्दै क्यानको ध्यानाकर्षण


 


काठमाडौं, असोज २ । नेपाल टी–२० लिग खेलेको पैसा नपाएको भन्दै काठमाडौं नाइट्सका खेलाडी तथा फिजियोले नेपाल क्रिकेट संघ क्यानको ध्यानाकर्षण गराएका छन् ।

काठमाडौं नाइट्सका कप्तान ज्ञानेन्द्र मल्लले खेलाडी तथा फिजियोले पाउनुपर्ने उचित रकम नपाएको भन्दै क्यानलाई पत्र पठाएर ध्यानाकर्षण गरेका हुन् ।

उनले पत्रमा खेलाडी र टिमले पाउनुपर्ने रकम निकासा गर्न क्यानले प्रतिबद्धता पत्रमा हस्ताक्षर गरे पनि अहिलेसम्म कुनै पनि औपचारिक जानकारी नआएको बताए ।

उनले आफूहरुले पाउनु पर्ने रकम निकासका बारेमा क्यानबाट कुनै पहल नभएमा आवश्यक कदम चाल्ने चेतावनी पनि दिएका छन् ।

नेपाल टी–२० लिग क्रिकेटको उपाधि विजेता लुम्बिनी अलस्टार्सले पनि अझै पुरस्कार रकम नपाएको गुनासो गर्दै आएको छ । क्यानले भने खेलाडीलाई पारिश्रमिक उपलब्ध गराउने प्रक्रियामा नै रहेको बताएको छ ।

लुम्बिनी अलस्टार्ससहित, जनकपुर रोयल्स, पोखरा एभेन्जर्स र विराटनगर सुपर किङ्सले नेपाली खेलाडीलाई पारिश्रमिक दिएको भए पनि काठमाडौं नाइट्स र फारवेष्ट युनाइटेडले नेपाली खेलाडीलाई ५० प्रतिशत पारिश्रमिक दिन बाँकी छ ।

प्रकाशित मिति: २ आश्विन २०८०, मंगलबार

प्रतिक्रिया दिनुहोस्