प्रधानमन्त्रीको चीन भ्रमणका अवसरमा बेइजिङमा नेपाल–चीन बिजनेस समिट


 


काठमाडौं, असोज ६ । नेपाल उद्योग वाणिज्य महासंघ (एफएनसीसीआई) र चाइना काउन्सिल फर प्रोमोसन अफ इन्टरनेसनल टेड (सीसीपीआईटी)को आयोजनामा बेइजिङमा नेपाल चीन बिजनेस समिट हुने भएको छ ।

प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’को भ्रमणको अवसर पारेर २४ सेप्टेम्बर आइतबार सीसीपीआइटीको मुख्यालय बेइजिङमा समिट आयोजना हुने महासंघले जनाएको छ ।

द्विपक्षीय व्यापार प्रवर्द्धन र नेपालमा चिनियाँ लगानी आकर्षित गर्ने उद्देश्यले उक्त समिट आयोजना हुन लागेको महासंघ अध्यक्ष चन्द्र ढकालले बताए ।

उक्त समिटमा प्रधानमन्त्री दाहालले सम्बोधन गर्ने कार्यक्रम छ । समिटमा १२० चिनियाँ कम्पनीको पनि सहभागिता रहने अध्यक्ष ढकालले बताए ।

नेपालका तर्फबाट महासंघ पदाधिकारीसहित करिब ५० जना व्यवसायीले समिटमा सहभागिता जनाउनेछन् । समिटमा चीन सरकारका उच्च पदस्थ अधिकारी र प्रधानमन्त्रीको भ्रमण दलमा सहभागी नेपाली उच्च अधिकारीहरूको पनि सहभागिता रहनेछ ।

प्रकाशित मिति: ६ आश्विन २०८०, शनिबार

प्रतिक्रिया दिनुहोस्