नेपाल टेलिकमको चाडपर्व अफर आजदेखि उपलब्ध, यस्ता छन् सुविधा


 


काठमाडौं, असोज २९ । नेपाल टेलिकमले दसैं, तिहार तथा छठ पर्वलगायतका विभिन्न पर्वहरूको अवसरमा चाडपर्व अफर उपलब्ध गराउने भएको छ।

टेलिकमले यो अफर आज (असोज २८ गते) देखि कात्तिक १० गतेसम्म उपलब्ध गराउन लागेको हो ।

यस अन्तर्गत ग्राहकहरूका लागि टेलिकमले सहुलियत दरका डाटा र भ्वाइससहितको प्याकका साथै रिचार्ज अन बोनस उपलब्ध गराउनेछ।

अफर अन्तर्गत ४९ रुपैयाँमा १ दिन प्रयोग गर्न सकिने १ एमबिपिएस अनलिमिटेड डाटाका साथमा नेपाल टेलिकमकै नेटवर्कमा प्रयोग गर्न सकिने १०० मिनेट भ्वाइस कल सुविधा सहितको प्याकेज उपलब्ध हुनेछ।

त्यसैगरी, ९८ रुपैयाँमा ३ दिनसम्म प्रयोग गर्न सकिने ६ जिबी डाटा प्याक उपलब्ध हुनेछ भने १९९ रुपैयाँमा ७ दिनसम्म प्रयोग गर्न सकिने १३ जिबी डाटा प्याक, २९४ रुपैयाँमा १० दिनसम्म प्रयोग गर्न सकिने २० जिबी डाटा प्याक र ३९९ रुपैयाँमा १५ दिनसम्म प्रयोग गर्न सकिने ३० जिबी डाटा प्याक उपलब्ध हुनेछ।

यही अफर अन्तर्गत ७८९ रुपैयाँमा फेस्टिभ कम्बो प्याक पनि लिन सकिनेछ। यो प्याकेज प्रिपेड मोबाइल प्रयोगकर्ताका लागि २८ दिन र पोस्टपेड मोबाइल प्रयोगकर्ताका लागि ३० दिनसम्म चलाउन सकिनेछ ।

सो प्याकेज अन्तर्गत ३० जिबी डाटा, सबै नेटवर्कमा कल गर्न सकिने ६०० मिनेट अल नेट भ्वाइस सुविधा र २०० अल नेट एसएमएस सुविधा यसमा उपलब्ध हुन्छ।

पोस्टपेड मोबाइल प्रयोगकर्ताले यो प्याकेज लिएमा मासिक रुपमा बुझाउनु पर्ने रेन्टल चार्जबाटै यो शुल्क काटिने सुविधा उपलब्ध छ।

त्यसैगरी, एमपोस र फिजिकल रिचार्ज कार्डबाट रिचार्ज गर्दा समेत बोनस अन रिचार्जको रुपमा डाटा प्याकेज उपलब्ध गराइनेछ।

यस अनुसार २०० रुपैयाँदेखि ४९९ रुपैयाँसम्मको रिचार्ज गर्दा २ दिनका लागि प्रतिदिन १ जिबीका दरले चलाउन सकिने गरी २ जिबी डाटा उपलब्ध हुनेछ।

त्यसैगरी, ५०० रुपैयाँ र सो भन्दा बढी रकमको रिचार्ज गर्दा प्रतिदिन २ जिबीका दरले ४ दिन चलाउन सकिने गरी ८ जिबी डाटा उपलब्ध हुनेछ।

सजिलो अनलिमिटेड ११९९ प्याकेजः यसअघि एक हजार ४९९ रुपैयाँ पर्ने सजिलो अनलिमिटेड प्याकेज अबदेखि एक हजार १९९ रुपैयाँमा उपलब्ध हुनेछ।

यस अफरअन्तर्गत अनलिमिटेड अल–नेट भ्वाइस कल, १००० वटा अल–नेट एसएमएस र प्रतिदिन ४ जिबी डाटा उपलब्ध हुनेछ।

यो प्याक प्रिपेड मोबाइलमा २८ दिन र पोस्टपेड मोबाइलमा ३० दिनसम्म चलाउन पाइनेछ। पोस्टपेड मोबाइलमा आवश्यक रेन्टल समेत यसमा समावेश हुनेछ।

असोज २८ गतेदेखि कात्तिक १० गतेसम्म आफ्नो मोबाइलबाट*१४१५*11# डायल गरी वा ‘नेपाल टेलिकम एप’ प्रयोग गरी यी प्याकहरू उपयोग गर्न सकिने टेलिकमले जनाएको छ।

प्रकाशित मिति: २८ आश्विन २०८०, आइतबार

प्रतिक्रिया दिनुहोस्