धनगढीमा पहिलोपटक ‘रानाथारु भाषा साहित्य सम्मेलन’ हुँदै


 


धनगढी, मंसिर १६ । कैलालीको धनगढीमा यही मंसिर २३ गते रानाथारु भाषा साहित्य सम्मेलन हुने भएको छ ।

राना कला संस्कृति संरक्षण तथा विकास मञ्चको आयोजनामा धनगढीमा प्रथम ‘रानाथारु भाषा साहित्य सम्मेलन २०८०’ हुन लागेको हो ।

आयोजक मञ्चले शनिबार पत्रकार सम्मेलन गर्दै ‘रानाथारु भाषा साहित्य सम्मेलन’बारे जानकारी दिँदै तयारी पूरा भएको जनाएको छ ।

रानाथारु भाषाको संरक्षण, जगेर्नाका लागि रानाथारु भाषा साहित्य सम्मेलन गर्न लागिएको कार्यक्रम संयोजक पदमबहादुर रानाले बताए ।

संरक्षणको अभावमा भाषा नै लोप हुँदै जाने डर भएको भन्दै उनले भाषा साहित्य संरक्षणका लागि नेपाल र भारतमा रहेका रानाथारु भाषा बोल्ने सबैलाई बोलाएर बृहत रुपमा छलफल समेत गरिने बता ।

सम्मेलनमा नेपाल र भारतबाट समेत रानाथारू बुद्धिजीवी, रानाथारू भाषाका ज्ञातालगायतको उपस्थिति रहने आयोजकले जनाएको छ ।
सम्मेलनमा मौलिक शब्द रक्षाको लागि विभिन्न लेखोट, सिलालेख, पुस्तक प्रकाशन तथा अनुसन्धान, लोकगीत संगीतको संरक्षणलाई समेत जोड दिइ रानाथारू भाषाको मौलिकता एवं एकरुपतामा विशेष जोड रहने आयोजकले जनाएको छ ।

कार्यक्रममा रानाथारू भाषाका गीत, कविता, साहित्यिक रचना वाचनलगायत रानाथारू भाषा लेखन पद्धति र व्याकरणको बारेमा गहन छलफल विश्लेषण तथा विविध लोक साँस्कृतिक प्रस्तुति एवं लोक स्रस्टाहरूको सम्मान गरिने जनाइएको छ ।

धनगढीको रुवस होटलमा हुने सम्मेलनमा नेपाल र भारतबाट गरि १ सय ५० जना सर्जक साहित्यकारको सहभागिता रहने आयोजकले जनाएको छ ।

प्रकाशित मिति: १६ मंसिर २०८०, शनिबार

प्रतिक्रिया दिनुहोस्