सामाजिक सञ्जाललाई सूचीकरण गर्न आदेश, नत्र रोक लगाउने


 


काठमाडौं, मंसिर १९ । सरकारले नेपाल भित्र सञ्चालनमा रहेका सामाजिक सञ्जाललाई तीन महिना भित्र सूचीकरण गर्न आदेश जारी गरेको छ ।

सञ्चार तथा सूचना प्रविधि मन्त्रालयले सामाजिक सञ्जालको प्रयोगलाई व्यवस्थित गर्ने सम्बन्धी निर्देशिका, २०८० लागू भएको भन्दै सोहीअनुसार मंसिर १५ गतेदेखि ३ महिनाभित्र सूचीकरण गराउन जारी गरेको हो ।

मन्त्रालयले सो अवधिमा सामाजिक सञ्जाल प्लेटफर्म सञ्चालन गर्न चाहने व्यक्ति, कम्पनी वा संस्थाले आफ्नो सामाजिक सञ्जाल प्लेटफर्म मन्त्रालयमा सूचीकरण गर्नुपर्ने व्यवस्था अनुसार निर्देशिका प्रारम्भ हुँदाका बखत सञ्चालनमा रहेका सामाजिक सञ्जाल प्लेटफर्मले यो सूचना प्रकाशित भएको मितिले तीन महिनाभित्र सूचीकरण गर्नुपर्ने जनाएको छ ।

यसका लागि सामाजिक सञ्जाल प्लेटफर्म सञ्चालन गर्ने व्यक्ति, कम्पनी वा संस्थाले आफै वा आफ्नो प्रतिनिधि मार्फत सामाजिक सञ्जाल नियमन इकाईको तोकिएको ई–मेलमा पठाएर निवेदन दिएर सूचीकृत हुन सकिने छ।

साथै, निर्देशिका प्रारम्भ हुँदाका बखत नेपालमा कार्यालय नभएका सामाजिक सञ्जाल प्लेटफर्म सञ्चालकले तीन महिनाभित्र कार्यालय स्थापना गर्ने वा सम्पर्क विन्दु तोक्नुपर्ने भनिएको छ।

तोकिएको समय सीमाभित्र सूचीकरण नभएका सामाजिक सञ्जाल प्लेटफर्मलाई मन्त्रालयले नेपालभित्र सञ्चालनमा रोक लगाउन सक्ने मन्त्रालयले चेतावनी दिएको छ ।

नेपाल सरकार मन्त्रिपरिषद्‌को २०८० कात्तिक २३ गतेको बैठकबाट “सामाजिक सञ्जालको प्रयोगलाई व्यवस्थित गर्ने सम्बन्धी निर्देशिका, २०८०” स्वीकृति गरिएको थियो ।

प्रकाशित मिति: १९ मंसिर २०८०, मंगलबार

प्रतिक्रिया दिनुहोस्