प्रधानमन्त्री प्रचण्ड विद्रोहमा जाँदै


 


काठमाडौं, पुस ३
प्रधानमन्त्री पुष्पकमल दाहालले पछिल्लो घटनाक्रमले देशमा ठूलो राजनीतिक दुर्घटना हुने खतरा आफूले देखेको बताएका छन् ।
चितवनमा शनिबारदेखि सुरु भएको नेपाल आदिवासी जनजाति महासंघको नवौं राष्ट्रिय महाधिवेशनको उद्घाटन गर्दै प्रधानमन्त्री दाहालले देशमा पुनः सामन्तीतन्त्र फर्काउने प्रयास भइरहेको र ०४७ साल तिर देशलाई फर्काउन खोजिएको दाबी गरे ।
‘२०४७ साल तिर त फर्कने होइन २०७४ साल तिरै जाने हो,’ अंक जोडेरै उनले भने, ‘दुई अंक चार सात(४७) र सात चार(७४) संयोगले मात्र हो ।’
ठूलै शक्ति संघीयतालाई खारेज गराउने षड्यन्त्रमा लागि रहेको बताउदै उनले यसको विरुद्धमा एकजुट भएर लड्नुपर्ने बताए ।
प्रधानमन्त्री दाहालले आदिवासी जनजातिको योगदान विना अहिलेको परिवर्तन सम्भव नभएको बताउदै जनजातिहरुको माग पुरा गराउन आफू प्रतिबद्ध रहेको बताए ।
प्रधानमन्त्री दाहालले यो देश एउटा कुनै जाति विशेष पेवा, उपल्लो वर्गको ठेकेदारी मात्रै होइन भन्दै सबै जातजाति, संस्कृति धर्मको साझा देश भएको बताए ।
‘आदिवासीका अगाडि सवै बाहुन एकै हुदैनन्, कोही सामन्ती सोचका हुन्छन, कोही आदिवासीका हकका लागि ज्यानै हत्केलामा राखेर हिडने हुन्छन्, एकथरी बाहुन क्षेत्रीले अहिले संघियताकै खारेजीमा लागेछन्,’ प्रधानमन्त्रीले भने, ‘म प्रधानमन्त्रीको कार्यालयबाट विद्रोह गर्नेमा छु ।’
महाधिवेशनमा २२ वटा विदेश शाखा, ७१ वटा जिल्ला समन्वय परिषद र ६५ वटा महासंघमा आवद्ध जातीय संस्थाबाट ४ सय २२ जना प्रतिनिधि, पर्यवेक्षकहरु सहभागी भएका छन् । यो पटकको महाधिवेशनले महासंघको विधान संशोधन सँगै तीनवर्षे कार्यकालका लागि नयाँ नेतृत्व चयन गर्ने छ । यसअघिको विधानमा १३ सदस्यीय सचिवालय सदस्य रहने व्यवस्था थियो । त्यसलाई संशोधन गरेर संघीयताकै खाकामा १९ सदस्यीय बनाउने तयारी भएको महासंघले जनाएको छ । आजको राजधानी दैनिकमा सामाचार छ ।

प्रकाशित मिति: ३ पुस २०७३, आइतबार

प्रतिक्रिया दिनुहोस्