नयाँ प्रिपेड सिमकार्ड चलाउँदा अब निःशुल्क सुविधा पाइने


 


काठमाडौँ, मंसिर २८ । नेपाल टेलिकमको नयाँ प्रिपेड सिमकार्ड चलाउँदा उपलब्ध हुने निःशुल्क सुविधा थप हुने भएको छ ।

टेलिकमका अनुसार हाल रु। ९० मा उपलब्ध हुने नयाँ प्रिपेड सिमकार्डमार्फत ३०० एमबी डाटा चलाउन, ४० मिनेट कल गर्न र २० वटा एसएमएस पठाउन सकिने सुविधा उपलब्ध भइरहेको छ । तर अब सो सिमकार्डमार्फत १ जीबी डाटा चलाउन सकिने छ भने नेपाल टेलिकमकै नेटवर्कमा १०० मिनेट भ्वाइस कल गर्न र १०० वटा एसएमएस पठाउन सकिने छ ।

यी सबै सुविधा ३० दिन सम्म प्रयोग गर्न सकिने प्रवक्ता शाभन अधिकारीले जानकारी दिए । पहिले जस्तै यसमा रु. १० ब्यालेन्स समेत उपलब्ध हुनेछ ।

यस्तै कक्षा ८, ९ र १० का विद्यार्थीलाई समेत निजको अभिभावकको नागरिकता र सम्बन्धित विद्यालयद्वारा जारी गरिएको परिचय पत्रको आधारमा रु। ९० मा प्रिपेड सिमकार्ड उपलब्ध हुनेछ ।

सो सिमकार्डमा समेत नयाँ सुविधा उपलब्ध हुनेछ । यस्तै विभिन्न दरका एमपोस तथा फिजिकल रिचार्ज कार्डमार्फत प्रिपेड तथा पोस्टपेड मोबाइलमा रिचार्ज गर्दा डाटा बोनस पनि उपलब्ध गराइने भएको छ । अब रु. १०० को रिचार्ज गर्दा समेत डाटा बोनस उपलब्ध हुनेछ ।

यस अनुसार एमपोसमार्फत रु। १०० देखि १९९ को रिचार्ज गर्दा १ दिनका लागि १ जीबी, रु. २०० देखि ४९९ को रिचार्ज गर्दा प्रतिदिन १ जीबीका दरले २ दिनका लागि २ जीबी र रु. ५०० वा सो भन्दा माथिको रिचार्ज गर्दा प्रतिदिन २ जीबीका दरले ४ दिनका लागि ८ जीबी डाटा बोनसको रुपमा उपलब्ध हुने अधिकारीको भनाइ छ ।

त्यसैगरी फिजिकल रिचार्जमार्फत रु. १०० को रिचार्ज गर्दा १ दिनका लागि १ जीबी, रु. २०० को रिचार्ज गर्दा प्रतिदिन १ जीबीका दरले २ दिनका लागि २ जीबी र रु. ५०० तथा रु. १००० को रिचार्ज गर्दा प्रतिदिन २ जीबीका दरले ४ दिनका लागि ८ जीबी डाटा बोनसको रुपमा उपलब्ध हुनेछ ।

यी सबै नयाँ सुविधा आगामी पुस १ देखि प्रारम्भ हुनेछ र फागुन ३० सम्म उपलब्ध हुने अधिकारीले जानकारी दिए ।

प्रकाशित मिति: २८ मंसिर २०८०, बिहिबार

प्रतिक्रिया दिनुहोस्