आज पनि संसद् बैठक अवरुद्ध


 


काठमाडौं , पुस ४

प्रमुख प्रतिपक्षी दल नेकपा (एमाले) लगायत आठ दलले सरकारले व्यवस्थापिका–संसद्मा दर्ता गरेको संविधान संशोधनको प्रस्तावको विरोध गर्दै संसद् बैठक अवरुद्ध गरेका छन् ।

आज दिउँसो १ बजेका लागि बोलाइएको बैठक सुरु हुनेबित्तिकै विपक्षी दलका सांसदहरुले आ–आफ्नो स्थानबाट उठेर संशोधन प्रस्तावप्रति विरोध जनाउनुभएको थियो ।

सरकारले आन्दोलनरत सङ्घीय गठबन्धनका मागलाई सम्बोधन गर्न गत मङ्सिर १४ गते संसद्मा संविधान संशोधनको प्रस्ताव दर्ता गराएको थियो । त्यसयता विपक्षी दलहरुले संसद् बैठक अवरुद्ध गर्दै आएका छन् ।

बैठक सुरु भएलगत्तै सभामुख ओनसरी घर्तीले नेपाः राष्ट्रिय पार्टीका सांसद लक्ष्मण राजवंशीलाई बोल्नका लागि समय प्रदान गरिन ।

सांसद राजवंशीले यसअघिको संसद् बैठक सारिएको सम्बन्धमा आफूलाई जानकारी नभएकामा सभामुख ओनसरी घर्तीसँग गुनासो गरे ।

प्रस्तावित संशोधन पारित भए पनि प्रदेश नं ५ मा जारी आन्दोलनको परिणाम भयावह हुने चिन्ता व्यक्त गरे  । सांसद राजवंशीले मुलुक अहिले कठीन अवस्थामा रहेकाले बुद्धिमतापूर्वक निर्णय गर्न नसके अवस्था गम्भीर बन्न सक्ने चेतावनी दिए  ।

भाषा, नागरिकता, प्रदेशको सीमाङ्कनजस्ता विषयलाई अघि सारेर दर्ता गरिएको संविधान संशोधन प्रस्ताव मुलुकको राष्ट्रियता, स्वतन्त्रता, सार्वभौमसत्ता र अखण्डताविरुद्ध भएको विपक्षीको आरोप छ ।

पटकपटकको आग्रहपछि विपक्षी दलका सांसदहरुले स्थान ग्रहण नगरेपछि सभामुख ओनसरी घर्तीले प्रतिपक्ष दलका सांसद आफ्ना ठाउँमा उभिएर विरोध गरेको अवस्था भनेको अवरोधको अवस्था भएको जनाउँदै बैठक स्थगित भएको घोषणा गरिन ।

संशोधन प्रस्तावमा वैवाहिक अङ्गीकृत नागरिकता, प्रदेशको सीमाङ्कन हेरफेर, राष्ट्रियसभामा प्रतिनिधित्व र भाषा आयोग गठन गर्नेजस्ता विषय उल्लेख छ । अर्का बैठक पुस ७ गते दिनको १ बजे बस्नेछ ।

प्रकाशित मिति: ४ पुस २०७३, सोमबार

प्रतिक्रिया दिनुहोस्