इन्धनको मूल्यबृद्धि फिर्ता लिन विप्लव नेतृत्वको नेकपा माओवादीको माग


 


काठमाडौं , पुस ४

नेत्र विक्रम चन्द विप्लव नेतृत्वको नेकपा माओवादीले इन्धनको मूल्यबृद्धि फिर्ता लिन माग गरेको छ । महासचिव विप्लवले आज विज्ञप्ती जारी गर्दै विगतमा तोकिएको मूल्य नै अन्तर्राष्ट्रिय बजारको भन्दा बढी रहेको भन्दै अहिले बढेको मुल्य वैधानिक नरहेको उल्लेख गरे।

यसअघि अन्तर्राष्ट्रियस्तरमा पेट्रोलियम पदार्थको ५० प्रतिशत मूल्य घट्दा नेपालमा केवल ५० पैसा, रु.१ का दरले मात्र घटाउने गरेकाले अहिले प्रतिव्यारेल केवल २ डलर मात्र बढ्दा प्रतिलिटर रु.४ बढाउनु तर्क संगत नरहेको विज्ञप्तीमा उल्लेख छ ।

अत्याधिक मूल्य बृद्धि गर्नुमा आयल नगिमले गर्दै आएको घोटला, राज्य सञ्चालकहरुले गर्दै आएको भ्रष्टाचार र कालोबजारीलाई टेवा र्पुयाउनु बाहेक अन्य कुनै कारण नरहेको जनाइएको छ ।

मूल्य बृद्धिले जनताको दैनिक जीवनलाई झनै कष्टकर बनाएको भन्दै पछिल्लो समय सरकारले इन्धनमा गरेको मुल्य वृद्धि तत्काल फिर्ता नलिए आन्दोलनमा उत्रिने चेतावनी समेत दिएको छ ।

अन्तर्राष्ट्रिय बजारमा कच्चा तेलको मूल्य बढेको भन्दै आयल निगमले आजदेखि लागु हुने गरी प्रतिलिटर चार रुपौयाँ ५० पैसा बढाएको छ ।

प्रकाशित मिति: ४ पुस २०७३, सोमबार

प्रतिक्रिया दिनुहोस्