लुमुम्बुका कवितामा उत्पीडितको आवाज


 


काठमाडौँ, पुस ८

कवि शशि लुमुम्बुले आज आफ्नो एकल कविता वाचन गरी माक्र्सवादी चेतनालाई आत्मसात् गरेर वर्गीय भावनालाई सशक्त रुपमा प्रस्तुत गर्नुभएको छ ।

जनसाहित्यिक मञ्च नेपालले आज आयोजना गरेको ‘अविरल जनसाहित्यिक यात्रा–३२’अन्तर्गत कविगोष्ठीमा लुमुम्बुले राजनीतिक, सामाजिक र सांस्कृतिक परिवर्तनको स्वर उचाल्दै अग्रगमन र समाज रुपान्तरणको आफ्नो चाहना अभिव्यक्त गर्नुभयो ।

आफ्ना पिताको सम्झना गर्दै कविता वाचन सुरु गर्नुभएका प्राज्ञ लुमुम्बुले ‘राजमार्ग छेउ’कवितामा श्रमिक वर्गका जीवन भोगाइलाई कोट्याउनुभयो । प्रायः पहाडलाई विम्बका रुपमा प्रस्तुत गर्दै उहाँले पानी र आगोको खोजी पनि गरे

म पानीचरो युगौँदेखि तिर्खारहेछु
काँडैकाँडा, भिरैभिर छ जतातिर पनि
म भूगोल खोजिरहेछु ।

एक दर्जन कविता वाचनमा उहाँलाई कवि तथा पत्रकार फूलमान बल, कवि पूर्ण इन्फादा र चन्द्र रानाहँछाले साथ दिनुभएको थियो ।
सो अवसरमा नेपाल प्रज्ञाप्रतिष्ठानका कुलपति गङ्गाप्रसाद उप्रेतीले प्राज्ञ लुमुम्बु मोफसलबाट राजधानी आएर साहित्य तथा भाषाको सेवामा समर्पित भई स्थापित हुनुभएको बताउँदै उहाँको कविताले राजनीति, समाज र संस्कृति परिवर्तनका लागि मार्गनिर्देश गरेको बताउनुभयो ।

प्राज्ञ नर्मदेश्वरी सत्यालले अविरल जनसाहित्यिक यात्रामा वाचन गरिएका कविता प्रकाशन गरिने जानकारी गराउनुभयो । मञ्चका अध्यक्ष राम विनयले साहित्यकारहरुले देशभक्तिपूर्ण भावना अभिव्यक्त गर्नुपर्ने समय आएको बताउनुभयो ।

मञ्चका काव्य विभाग प्रमुख डा विन्दु शर्माले कवि, कथाकार, निबन्धकार, नाटककार, चलचित्रकर्मी, सम्पादक जस्ता व्यक्तित्व बनाउनुभएका लुमुम्बु साहित्य र सिर्जनाका माध्यमबाट उत्पीडित वर्गको उत्थानमा सक्रिय रहेको बताउनुभयो । विसं २०२७ मा भोजपुर, याकुमा जन्मनुभएका कवि लुमुम्बुको ‘पहाड बूढो’ कवितासङ्ग्रह प्रकाशित छ ।

प्रकाशित मिति: ८ पुस २०७३, शुक्रबार

प्रतिक्रिया दिनुहोस्