अर्जुन खालिङकाे गोयाङको सुगन्ध कृतिलाई मरणाेपरान्त पहिचान पुरस्कार


 


काठमाडाैं, पुस १०

चित्रकला र कवितामा कलम चलाउँदै अाएका स्व अर्जुन खालिङको कविता संग्रह गोयाङको सुगन्धलाई २ लाख २ हजार २ रुपैयाँ राशीको “पहिचान पुरस्कार” प्रदान गरिने भएकाे छ।

२०३३ साल भदौ २५ गते सोलुखुम्बुको जुभिङ गा.वि.स.मा स्व खालिङको जन्म भएको थियो । २०५८ साल स्नातक तह फाईन–आर्टमा उनी गोल्डमेडल विजेता हुन ।

खालिङका दुईवटा कविता संग्रह सूर्य निरन्तर डडिरहेछ र गोयाङको सुगन्ध प्रकाशित भएकोछ । चिण्डो बुक्स्, चिण्डो फेशनका प्रमुख र किरात राई लेखकसंघमा अध्यक्षको कार्यभार सम्हालीरहेका थिए ।

कला, साहित्य र सामाजीक सेवामा निरन्तर काम गरिरहेका खालिङले किरात राईको मुन्दुमी कथाका एक पात्र हेत्छाकुप्पा÷ रैछाकुले÷ खाक्चिलीपाको चित्र कोर्नु भएको थियो । उक्त चित्रलाई खोटाङ जिल्ला अवस्थित तायाचुङ जायाजुङ डाँडामा किरात राई यायोक्खाले प्रतिमाको रुपमा राख्ने भएको छ ।

खालिङका कविता संग्रह “गोयाङको सुगन्ध”ले पहिचान प्रात्तीकोलागि संघर्ष गरेकोछ । र उनी स्वयम पहिचान प्राप्तिकोलागि हरेक क्षेत्रबाट निरन्तर संघर्ष गरिरेहेकाले उनलाई पहिचान पुरस्कार प्रदान गरिएको संस्थाले जानकारी दिएको छ ।

लेखनको माध्यमबाट पहिचानको मुद्दालाई जीवन्त दिन नेपाली साहित्य, संस्कृति र कलामा पहिचानसम्बन्धि लेखिएका पुस्तकलाई सम्मान र पुरस्कृत गर्दै ‘पहिचान पुरस्कार’ को घोषणा सन् २०१५ मा गरिएको हो ।

नेपाली साहित्यको श्रीबृद्धिकोलागि पहिचान सम्बन्धि अध्यान अनुशन्धन हुने, पहिचान सम्बन्धि लेखन सक्रिय बनाउँदै जाने र नेपाली समाजमा रहेको पुरानो मनोविज्ञानलाई लेखनबाट भत्काउँदै, नयाँ बहुल समाज निर्माणकोलागि पहिचान पुरस्कारको स्थपना गरिएको संस्थाले जानकारी दिए ।

पाँच–पाँच बर्षमा पुरस्कार राशी बढाउँदै लगिने कोषले जानकरी गराए । पुस्तक, कृतिलाई यो पुरस्कार दिईने भएता पनि लेखकको निरन्तरतालाई पनि महत्वको साथ हेरिने छ ।

प्रकाशित मिति: १० पुस २०७३, आइतबार

प्रतिक्रिया दिनुहोस्