वैद्य नेतृत्वको नेकपा क्रान्तिकारी माओवादी भन्छ–संविधान संशोधन विधेयक गलत


 


काठमाडौं,पुस १२

मोहन वैद्य नेतृत्वको नेकपा क्रान्तिकारी माओवादीले संविधान संशोधन विधेयक र एमालेले गरिरहेको विरोध दुबै गलत भएको बताएको छ । माओवादीको हालै सम्पन्न केन्द्रीय समिति बैठकले मोहन वैद्यले पेस गरेको राजनीतिक प्रतिवेदन पास गरेको छ । जसमा सरकारद्वारा प्रस्तुत संविधान संशोधन विधेयक विस्तारवादी कोण र एमालेद्वारा गरिएको विरोध सामन्तवादी कोणमा आधारित भएको भन्दै दुबैको विरोध गर्ने उल्लेख छ ।

पहिचान तथा सामर्थ्यका आधारमा राज्य पुनर्संरचना गरिने भनिएपनि त्यसो नभएको भन्दै वैद्य माओवादीले बसोबासको सघनता एवं जातीय पहिचानसहितको स्वशासनमा आधारित संघीय स्वायत प्रदेशहरुको स्थापनामा जोड दिएको छ । साथै उसले अहिलेको संविधान खारेज गरी संघीय जनगणतान्त्रिक संविधानको निर्माणका लागि संघर्ष गर्नुपर्नेमा जोड दिएको छ ।

वैद्य माओवादीको बैठकले संगठन विस्तारका साथै संविधान खारेजको माग तथा भ्रष्टाचार र कालाबजारीको विरोध गर्दै माघदेखि तीन महिने अभियान चलाउने निर्णय गरेको छ । संगठन तथा संघर्षका कामहरुमा बढी जोड दिनुपर्ने र तयारी पनि नपुगेको भन्दै राष्ट्रिय सम्मेलन सार्ने निर्णय गरेको छ ।

तर, मिति भने तय भएको छैन । बैठकले क्रान्तिकारी कम्युनिस्टहरुलाई एकतावद्ध गर्दै जाने निर्णय गरेको अध्यक्ष मोहन वैद्यद्वारा जारी विज्ञप्तिमा उल्लेख छ ।

प्रकाशित मिति: १२ पुस २०७३, मंगलबार

प्रतिक्रिया दिनुहोस्