नामिबियाले नेदरल्याण्ड्सलाई दियाे २०४ रनकाे लक्ष्य


 


काठमाडौँ, फागुन ११ । आईसिसि लिग-२ अन्तर्गत काठमाडौंमा जारी त्रिकोणात्मक सिरिज अन्तर्गत नामिबियाले नेदरल्याण्ड्सलाई २०४ रनको लक्ष्य दिएको छ ।

टियु क्रिकेट मैदानमा टस हारेर पहिले ब्याटिङ गरेको नामिबिया ४१।३ ओभरमा २०३ रनमा समेटियो ।

नामिबियाका लागि ज्यान निकोल लोफ़्टि-इटनले सर्वाधिक ४९ रन बनाए । यस्तै डेब्यु गरिरहेका मलान क्रुगरले ३९ रन जोडे ।

ओपनर निकोलास दाभिन शुन्यमा पहिलो ओभरमा नै पेभेलियन फर्किएका थिए । उनी भिभियान किङमाको बलमा क्याच आउट भए । तेस्रो नम्बरमा आएका माइकल भ्यान लिङ्गेन पनि १० रन मात्र बनाएर किङमाकै बलमा बलरद्वारा नै क्याच आउट भए ।

कप्तान जेर्हार्ड इरासमस पनि धेरै बेर क्रिजमा टिक्न सकेनन् । उनी २२ बलमा १२ रन बनाएर रुलफ भ्यान डर मर्वाको बलमा नोआह क्रोएसद्वारा क्याच आउट भए । त्यसपछि आउट हुने आजको खेलमा डेब्यु गरिरहेका ओपनर मलान क्रुगर थिए । उनलाई ४८ बलमा ५ चौकासहित ३९ रनमा आर्यन दत्तले बोल्ड गरेका थिए ।

७६ रनमा कृगर आउट भएपछि क्रिजमा आएका जेजे स्मिट पनि पहिलो बलमा नै शुन्यमा दत्तको शिकार बने ।

छैठौ विकेटका लागि ज्यान फ्राईलिंक र ज्यान निकोल लोफ़्टि-इटनले मिलेर ७८ रनको साझेदारी गर्दै इनिङ सम्हालेका थिए । साझेदारी फ्राईलिंक ५७ बलमा ३४ रन बनाएर शारिज अहमदको बलमा आउट भएसँगै टुटेको थियो ।

सोहि ओभरमा लोफ़्टि(इटन ४९ रनमा रनआउट हुन पुगे । ३० यार्ड सर्कल भित्र नै रहेको बलमा रन लिन जाँदा उनी रन आउट भएका थिए । नवौ विकेटका रुपमा बर्नार्ड स्कोल्ज शुन्यमा भ्यान डर मर्वाको बलमा क्याच आउट भए ।

नेदरल्याण्ड्सका लागि भिभियन किङ्गमाले सर्वाधिक ३ विकेट लिए । यस्तै आर्यन दत्त र रुलफ़ भ्यान डर मर्वाले समान २(२ विकेट लिँदा शारिज अहमद र बास डे लिडाले १-१ विकेट लिए ।

नामिबिया पछिल्लो खेलमा नेदरल्याण्ड्स विरुद्ध हार बहोरेको थियो भने नेपाल विरुद्ध दुवै खेल जितेको थियो । नेदरल्याण्ड्सले भने नेपाल विरुद्ध हार बेहोरेको थियो ।

प्रकाशित मिति: ११ फाल्गुन २०८०, शुक्रबार

प्रतिक्रिया दिनुहोस्