क्रिकेट खेलाडीको नयाँ वर्गीकरण : ग्रेड ‘ए’का ६ जनालाई मासिक १ लाख तलब


 


काठमाडौं, फागुन १४ । नेपाल क्रिकेट सङ्घ (क्यान)ले खेलाडीको नयाँ वर्गीकरण सार्वजनिक गरेको छ ।

क्यानको सोमबार बसेको बैठकले नयाँ वर्गीकरण गर्दै शीर्ष ग्रेडका खेलाडीलाई मासिक एक लाख रुपैयाँ दिने निर्णय गरेको छ ।

बैठकले पुरुष र महिला खेलाडीहरूको वर्गीकरण गर्नुका साथै उनीहरूको मासिक तलब तोकेको हो । ग्रेड ‘ए’मा कप्तान रोहितकुमार पौडेलसँगै सोमपाल कामी, करण केसी, दीपेन्द्र सिंह ऐरी, आसिफ शेख र कुशल भुर्तेल छन् ।

ग्रेड ‘बी’मा कुशल मल्ल, गुल्सन झा, भीम सार्की, ललितनारायण राजवंशी, आरिफ शेख र अविनाश बोहरा छन् । उनीहरूले मासिक ७० हजार पाउने छन् ।

ग्रेड ‘सी’ मा विनोद भण्डारी, अर्जुन साउद, सन्दीप जोरा र प्रतिश जीसी परेका छन् । उनीहरूलाई मासिक ५५ हजार प्रदान गरिनेछ ।

पवन सरार्फ, सागर ढकाल, अनिल साह, विवेककुमार यादव, आकाश चन्द, बसिर अहमद र सूर्य तामाङ ग्रेड ‘डि’ मा परेका छन् । डिलाई मासिक ३५ हजार दिइनेछ ।

नेपाल क्रिकेट सङ्घले इमर्जिङ क्याटगोरी पनि बनाएको छ, जसमा दीपेश कँडेल (कोशी), रुपेश सिंह (मधेश), रिजन ढकाल (बागमती), विपिन खत्री (गण्डकी), देव खनाल (लुम्बनी), अर्जुन घर्ती (कर्णाली) र हेमन्त धामी (सुदूरपश्चिम) छन् ।

इमिर्जिङ क्याटगोरीका खेलाडीहरूलाई मासिक २५ हजार तलब दिइने क्यानले निर्णय गरेको छ ।

प्रकाशित मिति: १४ फाल्गुन २०८०, सोमबार

प्रतिक्रिया दिनुहोस्