हङकङ भ्रमणको लागि नेपाली टोली घोषणा, उत्कृष्ट खेलाडीलाई विश्राम


 


काठमाडौं, फागुन २० । आइसीसी टि२० विश्वकपको लागि तयारीस्वरूप नेपाली राष्ट्रिय पुरुष क्रिकेट टोली घोषणा गरिएको छ ।

टि२० फर्म्याटको ४ खेल खेल्ने भ्रमणका लागि युवा प्रतिभा समेट्दै क्यानले टोली घोषणा गरेको छ ।

रोहित पौडेलको कप्तानीमा घोषित टोलीमा हाल चलिरहेको त्रिकोणात्मक टि२० सिरिजबाट कुशल भुर्तेल, विनोद भण्डारी, गुलशन झा, सन्दीप जोरा, आरिफ शेख, विवेक यादव, करण केसी, अभिनाश बोहरा, राशीद खान, प्रतिश जिसी र सागर ढकाल नियमित छन् । टोलीमा आकाश चन्द र लोकेश बम थपिएका छन् । आकाश पहिलो पटक टि२०आई टोलीमा परेका हुन् ।

प्रशिक्षक मोन्टी देशाइले दीपेन्द्रसिंह ऐरी, आसिफ शेख, सोमपाल कामी, कुशल मल्ल, अनिल शाह र ललित नारायण राजवंशीलाई विश्राम दिएका छन् ।

नेपालले हङकङमा एक त्रिकोणात्मक सिरिजसहित हङकङसँग टि२०आई खेल्नेछ । मार्च ९ मा नेपाल र हङकङले फ्रेन्डसिप कपको नाममा एक टि२०आई खेल्नेछन् ।

मार्च १० देखि १३ सम्म भने टि२०आई त्रिकोणात्मक सिरिजको खेल हुनेछ । नेपाल र हङकङले मार्च १० मा खेल्दा मार्च १२ मा पिएनजीले नेपाल र हङकङ दुवैसँग खेल्नेछ ।

मार्च १३ मा फाइनल हुनेछ । लिग तालिकामा तेस्रो हुने टोलीले हङकङ ए सँग टि२० खेल खेल्नेछ ।

प्रकाशित मिति: २० फाल्गुन २०८०, आइतबार

प्रतिक्रिया दिनुहोस्