सकसका बीच विस्तारित मन्त्रिपरिषद् अझै अपूर्ण


 


काठमाडौं । संसद्को पहिलो दल नेपाली कांग्रेसको साथ छाडेर दोस्रो ठूलो दल नेपाल कम्युनिस्ट पार्टी (एमाले) को मुख्य सहयोगमा बनेको पाँच दलीय सत्ता गठबन्धनमा मन्त्रालय भागबन्डा मिलेको छ।

गठबन्धन बाहिरका साना दललाई समेत समेटेर शक्ति विभाजन गर्ने सोचाइमा रहेका प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ र एमाले अध्यक्ष केपी ओलीले गठबन्धनभित्र चलखेल बढ्न थालेपछि केही मन्त्रालय बाँकी राखेर मन्त्रीको नाम टुंग्याएको हो।

लामो रस्साकस्सीबीच गठबन्धनका तर्फबाट एमाले, माओवादी केन्द्र, रास्वपा र नेकपा (एकीकृत समाजवादी) ले मन्त्रीको नाम टुंग्याएका छन् । जनता समाजवादी पार्टीले भने गठबन्धनमा सहभागी भए पनि सरकारमा तत्काल नजाने निर्णय लिएको छ ।

प्रधानमन्त्री प्रचण्डले मंगलबार १६ मन्त्री थपेर २० सदस्यीय मन्त्रीमण्डल बनाएका छन् । यसअघि सोमबार तीनजना विना विभागीय मन्त्रीले शपथ ग्रहणसमेत गरिसकेका छन् ।

मन्त्रालय बाँडफाँटमा नयाँ र साना राजनीतिक दलहरूले महत्वपूर्ण मन्त्रालयको जिम्मेवारी पाएका छन्। सबैभन्दा महत्वपूर्ण उपप्रधानमन्त्री एवं गृहसहित चार मन्त्रालयल रास्वपाले पाएको छ।

सो दलका सभापति रवि लामिछानेले गृह, उपसभापति डीपी अर्याललले श्रम, सुमना श्रेष्ठले शिक्षा र विराजभक्त श्रेष्ठले खेलकुद मन्त्रालयको जिम्मेवारी पाएका छन् ।

माओवादी केन्द्रले तत्कालका लागि प्रधानमन्त्रीसहित अर्थ, सञ्चार, पर्यटन र ऊर्जा मन्त्रालय लिएको छ। गठबन्धबाट रोजेर मन्त्री लिन पाउनुपर्ने हैसियतमा रहेको नेकपा एमाले अरूले छानेर रहेका मन्त्रालय लिनुपरेको एमाले नेताहरूले बताएका छन्। नेपाल समाचारपत्रबाट

प्रकाशित मिति: २४ फाल्गुन २०८०, बिहिबार

प्रतिक्रिया दिनुहोस्