किन बढ्यो जाडो, मौसम कहिले सुधार होला ?


 


काठमाडौँ, पुस १७

भूमध्यसागरबाट आएको पश्चिमी वायु प्रणालीको प्रभावले राजधानीलगायत मुलुकभर मौसम बदली भई चिसो बढेको छ ।

जल तथा मौसम विज्ञान विभागले मौसममा आएको परिवर्तनले सोमबारसम्म अधिकतम तापक्रम घट्ने र फाट्टफुट्ट पानी पर्ने जनाएको छ । विभागका मौसमविद् सुवास रिमालले भन्नुभयो, “मौसम बदलीका कारण आइतबार र सोमबार चिसो बढ्छ, मङ्गलबार मात्र मौसममा सुधार आउने देखिन्छ । ”

काठमाडौँको न्यूनतम तापक्रममा खासै असर नपरे पनि अधिकतम तापक्रम घटेर १९.५ सेन्टिग्रेड पुगेको विभागको अनुमान छ । पश्चिम क्षेत्रमा भने सोमबारदेखि नै मौसममा सुधार आउने सङ्केत देखिएको छ ।

हिउँदमा भूमध्यसागरबाट पश्चिमी न्यूनचापीय क्षेत्रको असरले जलवाष्प इरान, अफगानिस्तान, पाकिस्तान, पश्चिम भारत हँुदै नेपालमा बहन्छ ।

जलवाष्पका कारण मुलुकको पश्चिम क्षेत्रमा शनिबार बिहानैदेखि र केन्द्र तथा पूर्वी क्षेत्रमा दिउँसोदेखि मौसम बदली भएको मौसमविद् रिमालले बताउनुभयो । शनिबार उच्च हिमाली क्षेत्रमा हिमपात भएको र राजधानीमा ०.१ मिलिमिटर वर्षा भएको थियो भने अझै फाट्टफुट्ट पानी पर्ने सम्भावना छ ।

प्रकाशित मिति: १७ पुस २०७३, आइतबार

प्रतिक्रिया दिनुहोस्