नेपाल लाइफ इन्स्योरेन्सद्वारा आगलागीपीडितलाई राहत सामग्री प्रदान


 


काठमाडौं, वैशाख २६ । नेपालकै सर्वाधिक विश्वासलो जीवन बीमा कम्पनी नेपाल लाइफ इन्स्योरेन्स कम्पनीले महोत्तरीको मटिहानी नगरपालिका वडा नम्बर ६ मा आगलागीका कारण घरविहीन भएका पीडित परिवारहरूलाई राहत सामग्री सहयोगस्वरूप प्रदान गरेको छ ।

मटिहानी नगरपालिकाका प्रमुख हरिप्रसाद मण्डल, वडाध्यक्ष कलिम राईन, यस कम्पनीका कर्मचारीहरू तथा स्थानीय नागरिक अगुवाहरूको उपस्थितिमा पीडितहरुलाई प्रत्येक घर एक थान साडी वितरण गरिएको छ ।

हस्तान्तरण कार्यक्रममा बोल्दै मटिहानी नगरपालिकाका प्रमुख हरिप्रसाद मण्डलले कम्पनीले गरेको सहयोगका निम्ती धन्यवाद ज्ञापन गर्नुभयो । यस प्रकारको सहयोगले भीषण आगलागीबाट प्रभावित घर परिवारलाई सहज हुने उहाँले विश्वास समेत व्यक्त गर्नुभयो ।

वडा अध्यक्ष कलिम राईनले आगलागीबाट लत्ता कपडा नष्ट भएका कारण प्रभावित परिवारले अत्यन्तै कष्टकर जीवन बाँच्नुपरेको अवस्थामा कम्पनीले प्रदान गरेको सहयोगले जीवनयापन सहजहुने कुरा बताउनुभयो ।

कम्पनीका प्रमुख कार्यकारी अधिकृत प्रवीण रमण पराजुलीले संस्थागत सामाजिक उत्तरदायित्व कार्यक्रम अन्तर्गत यस कम्पनीले विभिन्न सामाजिक आर्थिक रूपान्तरणका क्रियाकलापहरु गर्दै आएको कुरा बताउनुभयो। प्रभावित परिवारलाई हरसम्भव सहयोग गर्न कम्पनी सदैव तत्पर रहेको र आगामी दिनमा पनि कुनै किसिमको सहयोग चाहिएको खण्डमा कम्पनी अग्रपंक्तिमा रहेर सहयोग गर्न तयार रहेको कुरा समेत बताउनुयो ।

कम्पनीले शिक्षा, स्वास्थ्य, दैवीप्रकोप, बीमा सचेतना, पूर्वाधार निर्माण तथा गरिब निमुखा, सीमान्तकृत वर्गको जीवन उत्थानका निम्ती संस्थागत सामाजिक उत्तरदायित्व अन्तर्गत विभिन्न कार्यक्रमहरु सञ्चालन गर्दै आइरहेको कुरा समेत बताउनुभयो ।

यस भीषण आगलागीबाट प्रभावित भएका १५० घरपरिवारलाई कम्पनीले राहत सामग्री उपलब्ध गराएको हो। मटिहानी नगरपालिका वडा नम्बर ६ मा लागेको आगोले सय भन्दा बढी घर पूर्ण रुपमा नष्ट भएका छन् भने करिव ५० वटा जति घरमा क्षति भएको छ ।

प्रकाशित मिति: २६ बैशाख २०८१, बुधबार

प्रतिक्रिया दिनुहोस्