प्रथम बृहत् खोटाङ हलेसी महोत्सवः साहित्यकार किराँती सम्मानित


 



खोटाङ, ३ जेठ । नेपाल खेलकुद प्रतिष्ठान खोटाङले वरिष्ठ कवि तथा साहित्यकार जसराज किराँतीलाई नगदसहित सम्मान गरेको छ ।

प्रतिष्ठानले आयोजना गरेको ‘प्रथम वृहत् खोटाङ–हलेसी खेलकुद, साहित्यिक, सांगीतिक तथा पर्यटन महोत्सव–२०८१’ अन्तरगत आज त्रिधार्मिकस्थल हलेसीमा आयोजित खुला राष्ट्रिय कविता प्रतियोगिताको शुभारम्भ समारोहमा साहित्यकार किराँतीलाई रु ११ हजार एक सय ११ नगदसहित ताम्रपत्र दोसल्ला ओढाएर सम्मान गरेको हो ।

कवि तथा साहित्यकार किरातीले साहित्य लेखनको माध्यमबाट समाज रुपान्तरणमा पुर्याउनुभएको योगदानको कदरस्वरुप नगदसहित दोसल्ला ओढाएर ताम्रपत्रले सम्मान गरिएको आयोजक नेपाल खेलकुद प्रतिष्ठान खोटाङका अध्यक्ष सञ्जयकुमार राईले जानकारी दिनुभएको छ ।

सम्मानित कवि तथा साहित्यकार किरातीलाई नेपाल प्रज्ञा प्रतिष्ठानका कूलपति भूपाल राईले नगदसहित सम्मानपत्र प्रदान गर्नुभएको हो । गत वैशाख३१ गतेदेखि यही जेठ १० गतेसम्म सञ्चालन हुने महोत्सव अन्तरगत बिहीबार हलेसीमा खुला राष्ट्रिय कविता प्रतियोगिता सञ्चालन भइरहेको छ ।

प्रतियोगीलाई प्रत्यक्ष वाचन गराएर फाइनल प्रस्पिर्धा गराइने प्रतियोगिताका लागि आयोजकसँग दर्ता भएको ३५ जनाको कवितामध्येबाट १६ वटा छनोट गरिएको जनाइएको छ ।

छनोटमा परेका कवि तथा कवयात्रिका कविता स्वयम् कवि तथा कवयात्रिलाई वाचन गर्न लगाएर प्रथम, द्वितीय, तृतीय, चौँथो र पाँचौँ स्थानसम्म घोषणा गरिने निर्णायक मण्डलका संयोजक रामविक्रम थापाले जानकारी दिनुभएको छ ।

प्रकाशित मिति: ३ जेष्ठ २०८१, बिहिबार

प्रतिक्रिया दिनुहोस्