आमादब्लम जलविद्युत आयोजनाको वित्तिय व्यवस्थापनमा सिद्धार्थ बैङ्क


 



काठमाडौं १६, जेठ । सिद्घार्थ बैंक लिमिटेडल सोलुखुम्बु जिल्लाको पाङबोचेमा आमादब्लम मिनी हाइड्रो लिमिटेडद्वारा निर्माण प्रस्ताव गरिएको ९ सय ११ किलोवाट क्षमताको जलविद्युत आयोजनाको वित्तिय व्यवस्थापनका लागि कर्जा सुविधा प्रदान गर्ने सम्बन्धी सम्झौता गरेको छ ।


उक्त सम्झौता पत्रमा सिद्धार्थ बैङ्कका तर्फबाट प्रमुख कार्यकारी अधिकृत सुन्दर प्रसाद कडेल, आयोजना कम्पनीका अध्यक्ष लक्ष्मण अधिकारी, वैकल्पिक ऊर्जा प्रवर्धन केन्द्रका कार्यकारी निर्देशक नवराज ढकाल र खुम्बु पासाङल्हामु गाँउपालिकाका अध्यक्ष मिङमा छिरी शेर्पाले हस्ताक्षर गर्नुभएको छ । उक्त सम्झौता अनुसार नेपाल सरकार÷वैकल्पिक ऊर्जा प्रवर्धन केन्द्र मार्फत प्राप्त हुने आर्थिक सहयोगमा सम्पन्न हुने यस आयोजनामा सिद्धार्थ बैङ्क लिमिटेडले विश्व बैङ्कबाट प्राप्त हुने ऋण रकम र बेलायती सरकारद्वारा आर्थिक सहयोगको रुपमा प्राप्त हुने च्यालेन्ज फण्ड प्रवाह गर्नको लागि साझेदार बैङ्कको रुपमा भुमिका निर्वाह गर्नेछ ।


चोलुन्चे खोलाको पानी प्रयोग गरी निर्माण हुन गइरहेको यस आयोजना ४,४२३ मिटरको उचाइमा रही संसारकै अग्ला स्थानमा रहेका जलविद्युत आयोजनाहरूमध्ये एक हो । सगरमाथा राष्ट्रिय निकुञ्जभित्र रहेको क्षेत्रमा राष्ट्रिय प्रशारणको विद्युत उपलब्ध नभएका कारण विद्युत अभाव रही आएकोमा यस आयोजना निर्माण सम्पन्न भइ सञ्चालनमा आएपछि उक्त समस्याको न्युनिकरण मात्र नभइ वातावरणमा सकारात्मक प्रभाव, पर्यटकलाई भरपर्दो ऊर्जाको विकल्प तथा खुम्बु पासाङल्हामु गाउँपालिका भित्रका ४ सय ५१ घरधुरी प्रत्यक्ष्य रुपमा लाभान्वित हुने विश्वास बैङ्कले लिएको छ ।

प्रकाशित मिति: १६ जेष्ठ २०८१, बुधबार

प्रतिक्रिया दिनुहोस्