महालक्ष्मी कर्पोरेट क्रिकेट लिग जेठ २२ देखि हुने


 


काठमाडौं १८ जेठ । महालक्ष्मी कर्पोरेट क्रिकेट लिग–२०२४ को तेस्रो सस्ंकरण जेठ २२ गतेदेखि ललितपुरमा सुरु हुने भएको छ ।
महालक्ष्मी विकास बैङ्कले ३० औं वर्ष प्रवेश गरेको अवसरमा गर्न लागेको प्रतियोगिता ललितपुरको इमाडोल स्थित बलपार्क स्पोर्टस् इभेन्ट्स एण्ड एकेडेमीमा हुनेछ ।
आज आयोजित पूर्व प्रतियोगिता भेटघाट तथा टाई सिट कार्यक्रममा महालक्ष्मी विकास बैङ्कका कम्पनी सचिव तथा विभागीय प्रमुखहरूले विजेता ट्रफी र जर्सी सार्वजनिक गर्नुभएको थियो । साथै सोेही कार्यक्रममा टिम कप्तानहरुलाई जर्सी वितरण गर्नुभएको थियो ।
प्रतियोगितामा १६ वटा वित्तिय संस्थाका १६ वटा टीम सहभागी छन् । लिग कम नक आउट ढाँचामा आयोजना हुने प्रतियोगितामा कुल ३१ वटा खेल खेलिनेछन् ।
जम्मा ३१ खेल हुने र १ सय ६० जना खेलाडी सहभागी रहने लिगमा ७ वाणिज्य बैङ्क, ८ विकास बैङ्क तथा एउटा वित्त कम्पनीको सहभागिता रहने आयोजकले जनाएको छ । प्रतियोगितामा माछापुच्छ्रे बैङ्क, एनएमबी बैङ्क, एनआईसी एसिया बैङ्क, प्राइम कमर्सियल बैङ्क, कुमारी बैङ्क, ऐभरेष्ट बैङ्क, नबिल बैङ्क, गरिमा विकास बैङ्क, लुम्बिनी विकास बैङ्क, कामना सेवा विकास बैङ्क, महालक्ष्मी विकास बैङ्क, ज्योति विकास बैङ्क, सांग्रिला डेभलपमेन्ट बैङ्क, शाइन रेसुङ्गा डेभलपमेन्ट बैङ्क, मुक्तिनाथ विकास बैङ्क, आईसीएफसी फाइनान्सको सहभागिता रहेको छ ।
खेल १० ओभर प्रति इनिंग्सको हुनेछ । प्रतियोगिताको विजेता, उपविजेता टिम, म्यान अफ द सिरिज, बेस्ट बलर, बेस्ट ब्याट्सम्यान, बेस्ट विकेट किपर, बेस्ट फिल्डर लगायत विभिन्न विधाका उत्कृष्ट खेलाडीहरुलाई पुरस्कार प्रदान गरिनेछ । उक्त लिगको उद्घाटन समारोह जेठ २२ गते र समापन तथा पुरस्कार वितरण समारोह जेठ २५ गते हुनेछ । प्रतियोगिताको सम्पूर्ण खेलहरुको प्रसारण बैङ्कको आधिकारिक सामाजिक सञ्जाल(फेसबुक÷युटयुब च्यानल) मार्फत गरिने बैङ्कले जनाएको छ ।

प्रकाशित मिति: १८ जेष्ठ २०८१, शुक्रबार

प्रतिक्रिया दिनुहोस्