लिग–२ मा नेपाललाई १५८ रनको लक्ष्य, कप्तान रोहितको सर्वाधिक ३१ रन



काठमाडौँ, ५ असार । आईसीसी क्रिकेट विश्वकप लिग–२ अन्तर्गतको त्रिकोणात्मक शृङ्खलाको पहिलो खेलमा नेपालले नामिबियासामु जितका लागि १५८ रनको सामान्य लक्ष्य प्रस्तुत गरेको छ।

नेदरल्यान्ड्सको उट्रेक्तस्थित मैदानमा टस हारेर पहिले ब्याटिङ गरेको नेपाल ४६.५ ओभरमा सबै विकेट गुमाउँदै १५७ रनमा समेटियो। खराब ब्याटिङ गरेको नेपालका लागि कप्तान रोहित पौडेलले सर्वाधिक ३१ रन बनाए।

यस्तै दीपेन्द्रसिंह ऐरीले ३०, गुलशन झाले २०, करण केसीले १८, आशिफ शेखले १६ र सोमपाल कामीले १५ रन बनाए। नेपालका अन्य खेलाडीले भने दोहोरो अंकमा रन बनाउन सकेनन्।

बलिङतर्फ नामिबियाका जेजे स्मिथले उत्कृष्ट प्रदर्शन गर्दै एक्लैले ६ विकेट लिए। उनले ९.५ ओभरमा २७ रन मात्र खर्चिए। यस्तै ज्याक ब्रसेल र बर्नार्ड शोल्ट्जले समान दुई–दुई विकेट लिए।

यस शृङ्खलामा नेपालले आयोजक नेदरल्यान्ड्स र नामिबियासँग कुल चार खेल खेल्नेछ। विश्वकप लिग–२ को शीर्ष चारभित्र पर्ने सम्भावना कायम राख्न नेपालका लागि यो शृङ्खला महत्वपूर्ण मानिएको छ।

नेपालले दोस्रो खेल बिहीबार नेदरल्यान्ड्ससँग, तेस्रो खेल आगामी सोमबार नामिबियासँग तथा अन्तिम खेल अर्को बुधबार नेदरल्यान्ड्ससँग खेल्दै शृङ्खलाको समापन गर्नेछ।

हालसम्म लिग–२ मा २८ खेलबाट २४ अंक जोडेको नेपाल अंक तालिकाको पाँचौँ स्थानमा छ। नामिबिया २२ अंकसहित सातौँ तथा नेदरल्यान्ड्स ३२ अंकसहित तेस्रो स्थानमा छन्।

शीर्ष स्थानको अमेरिकाले ४३ र दोस्रो स्थानको स्कटल्यान्डले ३८ अंक जोडेका छन् भने ओमान ३१ अंकसहित चौथो स्थानमा छ। ओमानलाई उछिनेर शीर्ष चारमा पुग्न नेपालले अब कम्तीमा चार खेल जित्नुपर्ने अवस्था छ। क्यानडा २४ अंकसहित छैटौँ र यूएई १४ अंकसहित पुछारमा रहेको छ।

प्रकाशित मिति: ५ श्रावण २०८३, मंगलबार