असमका गोगई नेपालमा सम्मानित


 


काठमाडौं, माघ ६

भारतको पूर्वोत्तर राज्य असमका जनगायक लोहित गोगई नेपालमा सम्मानित भएका छन् । असमिया भाषी भएर पनि मानवतावादी गीत–सङ्गीतका माध्यमबाट नेपाली भाषा एवम् संस्कृतिका क्षेत्रमा उल्लेख्य योगदान पु¥याएबापत उनलाई जापानीज सूचना केन्द्र, नेपालले मैत्री सम्मान गरेको हो ।

बुधबार काठमाडौं बागबजारस्थित होटल हार्दिकमा आयोजित कार्यक्रममा उनलाई समाजसेवी उर्मिला डङ्गोलले खादा, सम्मानपत्र र रुद्राक्षको माला पहिराएर सम्मान गरेकी थिइन् । उक्त कार्यक्रममा बोल्दै डङ्गोलले भनिन्, ‘असमिया भाषी भएर पनि गोगईले नेपाली भाषाप्रति देखाउनुभएको सद्भाव उल्लेखनीय छ, यो सम्मान उहाँको सत्कर्मका लागि हो ।’

कार्यक्रममा नेपाल प्रज्ञा–प्रतिष्ठानका प्राज्ञसभा सदस्य एवम् गोगईका मित्र शशी लुमुम्बूले गोगईको साङ्गीतिक कर्मका बारेमा प्रकाश पार्दै भने, ‘गोगई जनपक्षीय एवम् मानवतावादी गायक हुनुका साथै असम–नेपालका सांस्कृतिक दूत पनि हुन् ।

उनले असममा नेपाली जाति, नेपाली भाषी र असमिया जातिबीच सामाजिक एवम् सांस्कृतिक सद्भावदूतको रुपमा ज्यादै महत्वपूर्ण कार्य गरिरहेका छन् । यो सम्मान सोही सुकार्यको कदर हो ।

त्यसैगरी कार्यक्रममा वरिष्ठ वाद्यवादनविज्ञ न्हुछेमान डङ्गोल, पत्रकार वीरबहादुर वाइबा, केन्द्रका अध्यक्ष मदन सिलवाल, महासचिव रिता डङ्गोलले नेपाल र असमबीच सांस्कृतिक आदान–प्रदान गरिनु पर्नेमा जोड दिएका थिए ।

गोगईले हालै काठमाडौंमा गौरब गुरुङको रचना र वसन्त मुकारुङको सङ्गीतमा एउटा नेपाली गीत रेकर्ड गरेका छन् । उनले नेपाली गीत गाउन पाउँदा आफूलाई असिम आनन्द मिल्ने बताए ।

उनले भने, ‘म फेरि नेपाल आउनेछु र अरु पनि नेपाली गीत गाउनेछु ।’ कार्यक्रममा उनले नेपाल र नेपालीप्रति समर्पित गरेर आफैँले रचना गरेको गीत सुनाए–
‘मायाको कोसेली लिएर आएँँ
हाम्रो देश हो आसाम, नेपालबासी तपाईंहरुलाई सलाम !

भौगोलिक परिसीमाले ग¥यो विभक्त
मनको परिसीमा जहिल्यै पनि मुक्त
एकै आकाश, एकै बतास, एकै हाम्रो रक्त
मानिसका लागि गीत गाऔँ लिएर उदात्त कण्ठ ।

तपाईं नेपालको, म भारतको एकै ईश्वरको प्राण
एउटै मञ्चमा मिलेर गराऔँ मानव जातिलाई महान
मनकामना, पशुपति मेरो हजार कोटी प्रणाम
नेपालबासी तपाईंहरुलाई सलाम ।

प्रकाशित मिति: ६ माघ २०७३, बिहिबार

प्रतिक्रिया दिनुहोस्