जननायक रामप्रसाद राईः माझ किरातको क्रान्तिदेखि सिंहदरबार विद्रोहसम्म



भाेगीराज चाम्लिङ

रक्षादलले विद्रोह गर्दैछ भन्नेबारे सरकार पहिलादेखि नै जानकार थियो। सिंहदरबार विद्रोह हुनुभन्दा तीनचार दिन अगाडि नै सोबारे सूचना पनि सरकारलाई प्राप्त भइसकेको थियो।

बी.बी चेम्जोङले प्रधानमन्त्री मातृकाप्रसाद कोइरालालाई धेरै पहिला नै रक्षा दलमा रहेका पूर्वका राईहरुलाई भड्काइँदै गरेको बताएका थिए। रामप्रसाद राईले लैनचौरमा विक्रम संवत् २००८ साल पुस २८ (सन् १९५२ जनवरी १२)मा प्रधानमन्त्री मातृकाप्रसाद कोइरालाले रक्षा दलप्रति अपनाएको नीति र व्यवहारको चर्चा गर्दै सरकारको विरोध गरेपछि सतर्क हुँदै रक्षा दलका जवानहरुबाट हतियार फिर्ता लियो।

यसले सरकारविरुद्ध रक्षादलको विद्रोहको विजारोपण हुन पुग्यो।

सरकारले रक्षादलका जवानबाट हतियार लिएर अफिसरलाई जिम्मा दिने निर्णय माघ ८ गते मंगलबारकै दिन गरेको थियो। ब्रिगेडियर जनरलले राती ९ बजे सिंहदरबार निरीक्षणसमेत गरेका थिए। तर, ११.३० बजे राती विद्रोह भयो।

के.आई. सिंह भाग्ने सुरमा छन् भन्ने हल्ला धेरै दिनदेखि भएकोले त्यसको बन्दोबस्तका लागि एक सेक्सन रक्षा दलको गार्डबाहेक अरु चारजना गुप्तचर साथमा राखिएको थियो। मंगलबारकै दिन पनि ‘बृगेडियर’ लाई ‘डा. के.आई. सिंहको गार्डको बन्दोबस्त गर्ने तपाईंको जिम्मा हुनेछ है’ भनी अह्राइएको हो।

उता छुटाउन कोही आउँछन् कि भन्ने आशंकाले बृगेडिएर मेजरलाई त्यही दिन दिउँसो २ बजे त्यस्तो गडबडी भएमा त्यो गर्नेलाई गोली हानी मारी दिनू भन्ने खबर दिइएको थियो।

गृह प्रशासनको स्पष्टीकरणमा भनिएको थियो‘…तापनि सरकारी जागीरमा तटस्थतापूर्वक लगाइएको ड्युटी गर्ने …राजनीतिक अवसरवादीहरुले भाँड्न खोजेको खबर पाएपछि यिनका हातबाट हतियार खोसी अफिसरको हातमा राख्नु सिवाय अर्को उपाय थिएन। …तर त्यो दिन ९ बजे बृगेडियर मेजरलाई ‘आदेशअनुसारको बन्दोबस्त के छ?’ भन्ने सोधनी गरी पठाउँदा ‘स्वयं हेरेर ठीक गरेको छु, सबै ठीक छ, गडबड हुने छैन’ भन्ने जवाफ चिठीद्वारा बृगेिडयरलाई लेखिपठाइएको रहेछ।

बृगडियरले ९ बजे राती सिंहदरबार चेक गर्न जाँदा सबै ड्युटीमा टम्म बसेको देखी आईजीपीलाई ‘ठीक छ’ भन्ने रिपोर्ट गर्नुभएको रहेछ।’ यो स्पष्टीकरणले गृह प्रशासन उच्च सतर्कतामा थियो भन्ने देखिन्छ ।

नारायणहिटी घेर्न चाहन्थे रामप्रसाद

विद्रोही रक्षा दलका जवानहरुले माघ ९ गते बिहानसम्म बारुदखाना, मुलुकी खाना, बन्दुकखाना, तोपखाना, सिंहदरबार, केन्द्रीय जेल, नख्खुजेल, डिल्लीबजार खोर, जनाना जेल, विजुली अड्डा, एयरपोर्ट, रेडियो नेपालजस्ता सबै महत्वपूर्ण ठाउँ कब्जा गरी बत्ती र टेलिफोनका तारसमेत काटिदिए।

त्यसपछि कसरी अगाडि बढ्ने भन्नेबारेमा रामप्रसाद राई र डा. के.आई. सिंहबीच दुई फरकफरक लाइन देखापर्यो। रामप्रसाद राई तत्कालै अगाडि बढेर नारायणहिटी राजदरबार पनि घेराउ गर्न चाहन्थे तर डा. सिंह त्यसो नगरी शान्तिपूर्ण रुपमा माग गर्नुपर्छ भन्ने पक्षमा देखिए।

मानबहादुर राई भन्छन्, ‘मित बाबु (चन्द्रकर शाक्य) माघ ९ बिहान हामीकहाँ आउनुभयो। उहाँले भन्नुभयो, ‘म पनि निकैबेर बसें। ठूलो विवाद भइराखेको छ। मितज्यू (रामप्रसाद राई) चाहिँ एक्सन गर्नुपर्छ, यो त्यतिकै छोड्नु हुँदैन, हामी सहिद भए पनि, आहुति बलिदान दिन परे पनि नछोडौं’ भन्नुभो। हाम्रो मितज्यू (रामप्रसाद राई)ले चाहिँ थ्री इन्च, टु इन्च नारायणहिटीतिर फायरिङको लागि तेस्र्याउन लगाउनुभएछ।

उहाँले ‘यसको निष्कर्ष कि हामीले आहुती दिनुपर्छ, कि नभए हाम्रो उद्देश्यलाई पूर्ण गर्नुपर्छ’ भन्नुहँुदैथ्यो। केआई सिंहले मानिराख्नुभएको थिएन। सिंहले चाहिँ ‘ठूलो हत्या हुन्छ, रक्तपात हुन्छ, भोलि आएर इन्डियाले हस्तक्षेप गर्छ, तपाईं–हामीले अहिले त्यो सोचेर हुँदैन, भोलि हामी बाँच्न सक्दैनौं, यहाँ रक्तपात भयो भने यसको भार हामीले पछिसम्म बोक्नुपर्छ’ भन्नुभयो। दुईजनाबीच विवाद भरहेको छ भन्ने खबर मितबाउले ल्याउनुभयो।’

वार कि पार लगाउने पक्षमै थिए भन्ने कुरा डा. केआई सिंहको कुराबाट पनि स्पष्ट हुन्छ। बागमती नदीको किनारैकिनार हुँदै अगाडि बढेर विष्णुमतीको किनार आइपुगेपछि त्यहाँ रोकिएर भने, ‘मैले रक्तपात तथा खुनखराबीबाट नेपाललाई बचाएको छु। तर यदि म फेरि पनि नेपालमै रोकिए चाहिँ भने सायद मैले यसलाई बचाउन सक्दिनँ।’ डा. सिंहको भनाइले उनको कमान्डमा मुक्तिसेना थिएन, रामप्रसाद राईकै कमान्डमा थियो भन्ने पनि देखिन्छ।

टंकबहादुर राई पनि ‘रामप्रसाद राईले ‘सशस्त्र हमला गर्दै जानुपर्छ’ भन्ने पक्षमा रहेको बताउँछन्। डा. राजेश गौतम प्रस्ट रुपमा लेख्छन्, ‘रक्षा दलका विद्रोही जवानहरुले सबैतिर विद्रोह गरी मुख्यमुख्य ठाउँहरुमा आफ्नो अधिकार कायम गर्न थालेपछि रक्षादलका विद्रोही नेताहरुले नारायणहिटी दरबार पनि घेर्ने र त्यसलाई पनि आफ्नो अधिनमा राख्नुपर्ने विचार व्यक्त गरे।

यसको मुख्य नेता रामप्रसाद राई थिए। तर यस कुरामा डा. केआई सिंहले समर्थन गरेनन्।’ रामप्रसाद राई अघि बढ्न खोज्दा के.आई. सिंहले ‘हतियार नचलाइकनै हामीले चाहेको कुरा पाउँछौं भने किन हतियार चलाइराख्नु? हामी भनेको बाघ हौं, राजा भनेको सिंह हो, हामी राजासँग कुरा गरौं र समस्याको समाधान भइहाल्छ’ भनेर रोकेको बताउँछन्।

विद्रोहीहरुका तर्फबाट मन्त्री गणेशमान सिंह र टंकप्रसाद आचार्य यसपछि नै नारायणहिटी वार्ताका लागि गएका थिए। गणेशमान सिंहले राती नै राजदरबारमा सम्पर्क गरेका थिए तर उताबाट ‘विद्रोहीहरुसँग मेलमिलाप राखिने, अहिले राती भएकोले सुतौं, भोलि बिहान आठ बजे टुंगो गर्ने’ खबर आएको बताएपछि राती वार्ता हुन सकेन। शान्ति वार्ताका लागि बिहानसम्म कुर्नुपर्यो।

दिल्लीमा राजा, राणा र काँग्रेसबीच भएको त्रिपक्षीय सम्झौताले प्रजातन्त्र कुँजिएको, राष्ट्रिय स्वाधीनतामाथि हस्तक्षेप भएको र पुरातनपन्थी (राजा–राणा) शक्ति हावी भएको भन्दै रामप्रसाद राईले रक्षा दलमा परिणत गरिएका जनमुक्ति सेनालाई संगठित गरी २००८ साल माघ ८ गते डा. केआई सिंहसँग मिलेर सिंहदरबार कब्जा गरेका थिए। उनी राजदरबार पनि घेराऊ गरेर दिल्ली सम्झौता सच्याउन चाहन्थे।

(माघ ८ गते शनिवार सार्वजनिक हुने भोगीराज चाम्लिङद्वारा लिखित ‘जननायक रामप्रसाद राईः माझकिरातको क्रान्तिदेखि सिंहदरबार विद्रोहसम्म’ पुस्तकको सम्पादित एक अंश)

प्रतिक्रिया दिनुहोस्
           
सामाजिक संजालमा हामी
सूचना विभाग, दर्ता प्रमाणपत्र नं. ३८६/०७३-७४
सम्पर्क
देशको मिडिया प्रा.लि. काठमाडौँ, नेपाल
इमेलः [email protected]
फोन : ०१-४१०७६६६
           
संस्थापक / प्रधान सम्पादक : ध्रुब सुबेदी
     
           
facebook
© 2022 Deshko News