आज दिनभर पानी पर्ने


 


काठमाडौं, माघ १४

काठमाडौँसहित देशका धेरै ठाउँमा अहिले पानी परिरहेको छ । उपत्यकामा अहिले हल्का वर्षा भैरहेको छ भने दिउँसोपख केही ठाउँमा जमिन भिज्ने गरी वर्षा हुने सम्भावना रहेको मौसमविदले बताएका छन् ।

मौसमविदका अनुसार अहिले पश्चिम र सुदूरपश्चिमका धेरैजसो ठाउँमा पानी परिरहेको छ । पूर्वमा पनि आज पानी पर्नेछ । यस्तै हिमाली र उच्च पहाडी क्षेत्रमा हिमपात भइरहेको छ ।

मनाङ, मुस्ताङ, हुम्ला, जुम्ला, जिरीलगायत क्षेत्रमा हिमपात भएको मौसमविद विभूती पोखरेलले बताउनुभयो । जल तथा मौसम पूर्वानुमान महाशाखाको तथ्याङ्क अनुसार धनगढीमा ७ मिलिमिटर, डडेल्धुरामा ६ मिलिमिटर, दिपायलमा ५ मिलिमिटर, वीरेन्द्रनगर र जुम्लामा २२ मिलिमिटर, नेपालगञ्जमा १ मिलिमिटर, दाङमा शून्य दशमलव ३ मिलिमिटर पानी परेको छ ।

पोखरा लगायत आसपासका क्षेत्रमा पनि अहिले पानी परिरहेको छ । आज पानी परेपनि शनिबारदेखि भने मौसम सफा रहनेछ । पश्चिमी वायू नेपालबाट फर्किने क्रममा रहेकाले भोलिदेखि मौसम सफा हुने महाशाखाले जनाएको छ ।

मध्य र पश्चिमी क्षेत्रमा प्रभाव पारेको पश्चिमी वायु बिस्तारै पूर्वतर्फ सरिरहेको मौसमविद् पोखरेलले बताउनुभयो । देशभरकै मौसम बद्ली भई धेरै ठाउँमा पानी परिरहेपनि चिसो भने नबढ्ने मौसमविद्ले बताएका छन् ।

ठूलो पानी पर्ने गरी प्रणाली विकास नभएकाले केही चिसो महशुस गरेपनि जाडो भने नबढ्ने उनीहरुले बताएका छन् । पानी परेपछि आकाश सफा भई तत्कालका लागि न्यूनतम तापक्रम घट्ने भए पनि फेरि तापक्रम बढ्ने छ ।

प्रकाशित मिति: १४ माघ २०७३, शुक्रबार

प्रतिक्रिया दिनुहोस्