स्ववियु निर्वाचनको चहलपहल बढ्यो


 


शरद शर्मा
काठमाडौँ, माघ १४
आसन्न स्वतन्त्र विद्यार्थी युनियन (स्ववियु) को निर्वाचन नजिकिँदै गर्दा क्याम्पसमा चहलपहल बढेको छ । चुनाव आउन एक महिना मात्र बाँकी छँदा राजधानीका मुख्य क्याम्पसमा विभिन्न विद्यार्थी सङ्गठनका चुनाव केन्द्रित गतिविधि बढेका छन् ।

सङ्गठनहरुले निर्वाचनमा मतदाता आफ्नो पक्षमा पार्नका लागि क्याम्पसमा सहयोगी कक्ष स्थापना गर्ने, विद्यार्थी भर्ना, भेला बैठकजस्ता चुनाव केन्द्रित गरिरहेका छन् ।

विद्यार्थी सङगठनबीच निर्वाचनका लागि उम्मेदवारको उमेरको हदबन्दी २८ वर्ष र मिश्रित निर्वाचनमा प्रणालीका बारेमा सहमति भएपछि निर्वाचन हुने निश्चित भएपछि क्याम्पसमा सरगर्मी बढेको हो ।

त्रिभुवन विश्वविद्यालयमा आठ वर्षपछि हुन थालेको स्ववियु निर्वाचनमा आफ्नो पक्षमा नतिजा पार्नका लागि विद्यार्थी सङ्गठन प्रचारात्मक कार्यमा समेत जुटिसकेका छन् ।

उनीहरुले क्याम्पसका भित्तामा निर्वाचन लक्षित भित्तेलेखन पनि सुरु गरिसकेका छन् । त्रिभुवन विश्वविद्यालय, नेपाल ल क्याम्पस, आरआर क्याम्पसलगायत राजधानीका मुख्य क्याम्पस अगाडि नेपाल विद्यार्थी सङ्घ, अनेरास्ववियु, अनेरास्ववियु (क्रान्तिकारी) लगायत सङ्गठनले भित्तेलेखन गरेका छन् ।

दुईपटक स्ववियु निर्वाचन घोषणा भएपनि हुन नसकेपछि अहिले हुन थालेको निर्वाचनमा विद्यार्थी उत्साहित भएका छन् ।

नेपाल विद्यार्थी सङ्घका महामन्त्री सरोज थापाले सबै क्याम्पसमा आफ्नो सङ्गठनले चुनाव केन्द्रित गतिविधि गरिरहेको बताउनुभयो । उहाँले आफ्नो सङ्गठनले उमेरको हदबन्दीका बारेमा पुनःविचार गर्न माग गरेपनि चुनावमा होमिएको बताउनुभयो । उहाँले क्याम्पसमा भर्ना, भित्तेलेखन र बैठकजस्ता कार्यक्रम सञ्चालन गरेको बताउनुभयो ।

त्रिभुवन विश्वविद्यालय कीर्तिपुरमा अध्ययरत अनेरास्ववियु शैक्षिक विभाग प्रमुख माधव पन्तले विद्यार्थी सङ्गठनबीच यसपटक जसरी पनि स्ववियु निर्वाचन गर्ने भनेपछि त्रिवि क्याम्पसमा पनि स्ववियु निर्वाचनको सरगर्मी तातेको बताउनुहुन्छ ।

उहाँले अहिले मुख्य तीन सङ्गठन चुनावी प्रचारात्मक कार्यक्रममा गर्न थालेका जानकारी गराउनुभयो । उहाँले आठ वर्षपछि हुन थालेको निर्वाचन हुने निश्चित भइसकेपछि देशको ठूलो क्याम्पस त्रिविमा पनि विद्यार्थी सङ्गठनले चुनाव लक्षित विभिन्न कार्यक्रम गरिरहेको बताउनुहुन्छ ।

अखिल क्रान्तिकारीका आरआर क्याम्पसका इन्चार्ज धु्रव वाग्लेले निर्वाचन हुने सुनिश्चित भएपछि आफूहरु निर्वाचनमा होमिएको बताउनुभयो । उहाँले निर्वाचन आफ्नो पक्षमा पार्नका लागि सङ्गठन गतिविधि बढाएको बताउनुभयो ।

“क्याम्पसमा हामीले आफ्ना साथीलाई विद्यार्थी भर्ना र भित्तेलेखन जस्ता कार्य गरिरहेका छौँ”, उहाँले भन्नुभयो–“निर्वाचनमा सफलता पाउने तरिकाले लागेका छौँ ।” दुई÷दुई वर्षमा हुने स्ववियु निर्वाचन आगामी फागुन १४ गते हुने विद्यार्थी सङ्गठनबीच प्रणालीका विषयमा सहमति हुन नसक्दा २०६५ सालयता हुन सकेको थिएन । रासस

प्रकाशित मिति: १४ माघ २०७३, शुक्रबार

प्रतिक्रिया दिनुहोस्