स्थानीयको पहलमा गाउँ झलमल्ल


 


भोजपुर, असार ६
भोजपुरको उत्तरी चौकीडाँडा गाविसका स्थानीयवासीले २८ किलोवाट क्षमताको विद्युत सञ्चालनमा ल्याएका छन् । विद्युतबाट गाविसका तीन सय बढी घरधुरी प्रत्यक्ष लाभान्वित हुने भएका छन् ।

आयोजना निर्माणका लागि एक सय ५५ घरधुरीबाट १८ हजार रुपैयाँका दरले रकम संकलन स्थानीयले गरेका थिए । उनिहरुले चौकीडाँडा र कुदाककाउले गाविसको सिमामा पर्ने इर्खुवा खोलाबाट विजुली निकालेका हुन् ।

करिब एक करोड ५९ लाख लागतमा विद्युत आयोजना सम्पन्न भएको हो । विद्युत आयोजनाका लागि बैकल्पिक उर्जा प्रर्वद्धन केन्द्रबाट ५४ लाख ६० हजार अनुदान प्राप्त भएको निर्माण उपभोक्ता समितिका अध्यक्ष गोपीकृष्ण घलले बताए ।
तीन बर्ष लगाएर निर्माण गरिएको आयोजनाले गाउँ झलमल्ल भएको छ । गाउँमा विद्युत सञ्चालन भएसँगै स्थानीय दंग परेका छन् । उनिहरु यसअघि टुकीको साहारामा बस्दै आएका थिए ।

यो विद्युत गृहको संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्री कृपासुर शेर्पाले केही दिन अघि उद्घाटन गरेका थिए । उद्घाटन कार्यक्रममा मन्त्री शेर्पाले विद्युत गृहको मर्मत संहारको लागि १० लाख रुपैया सहयोग गर्ने जनाएका छन् ।

त्यस्तै सभासद तथा नेपाली कांग्रेसका केन्द्रिय सदस्य ज्ञानेन्द्रबहादुर कार्कीले सात लाख ५० हजार विद्युत आयोजनालाई सहयोग गर्ने निर्माण उपभोक्ता समितिका कोषाध्यष विरेन्द्र राईले जानकारी दिए ।

प्रकाशित मिति: ६ असार २०७२, आइतबार

प्रतिक्रिया दिनुहोस्